Techie IT
आईतबार, असोज ११,२०७७

स्थानीय तहको समृद्धि देशको समृद्धिको आधार हो


अयोध्या थारु सियारी गाउँपालिका रूपन्देहीका अध्यक्ष हुन् । तत्कालीन नेकपा एमालेको राजनीतिबाट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित थारु एक कामका बहुउपयोगिताका पक्षहरू खोज्ने कार्यमा बढी अग्रसरता देखाउँछन् । २०३६ सालबाट स्वतन्त्र मजदुरको साधारण सदस्य लिएर राजनीतिक यात्रा सुरु गरेका थारु प्रस्ट विचार राख्ने राजनीतिज्ञका रूपमा परिचित छन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साबिक मैनहिया गाविसबाट गाविस अध्यक्षमा निर्वाचित भएका थारुले एक कार्यकाल गाविस अध्यक्ष भई काम गर्दा जनताको मन जित्न सफल भएर गणतन्त्र स्थापनापछिको गाउँपालिकाको निर्वाचनमा पनि चिर्वाचित भएका हुन् । उनै अध्यक्ष थारुसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

कार्यसम्पादनको तीन वर्षमा के–कति विकास निर्माणका कामहरू भए ?

पहिलो वर्ष नयाँ अनुभव र नयाँ व्यवस्थाले काममा केही असहज परिस्थितिको सृजना भए पनि गरेर सिक्ने र सिकेर गर्ने रणनीतिमा पूर्णरूपले परिणत हुन सफल भयौँ । पहिलो वर्षको सिकाइ, बुझाइ, गराइ र अभ्यासले दोस्रो वर्षको कार्यसम्पादन तथा योजना कार्यान्वयनमा धेरै सहजता दिलायो । कृषि, शिक्षा, स्वास्थ्य, पशुपालन, सामाजिक, भौतिक, आर्थिकलगायत चौतर्फी क्षेत्रहरूका योजनाहरू आवश्यकताका आधारमा योजनाबद्धरूपले कार्यान्वयन गर्दै अगाडि बढेका छौँ । यो तीन वर्षमा विकास निर्माणको क्षेत्रमा एउटा चरण पार गरी अर्को चरणमा पुगेका छौँ ।

भौतिक र शैक्षिक क्षेत्रमा के–कस्ता काम गर्नुभयो त ?

भौतिक विकासको सन्दर्भमा दीर्घकालीन समयसम्म असर नगर्ने र फेर्न नपर्ने गरी सडक मापदण्ड बनाएर नयाँ सडक खोल्ने, ग्राभेल गर्ने, कालोपत्रे गर्नेलगायतका कामहरू भएका छन् । केही शैक्षिक संस्थाका संरचनाहरू निर्माण तथा मर्मतसम्भारका कामहरू पनि गरेका छौँ । पुलपुलेसा निर्माण गर्नुका साथै स्वास्थ्य संस्थाको भवन निर्माण तथा मर्मतसम्भारका अधिकांश कामहरू सम्पन्न भएका छन् भने गाउँपालिकाको सुविधासम्पन्न अत्याधुनिक प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शिक्षा जीवनको अभिन्न अंग भएकोले शैक्षिक गुणस्तर वृद्धिको लागि आवश्यक योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ । गाउँपालिकामा अवस्थित पब्लिक मावि नमुना विद्यालयमा पर्नु हाम्रो शैक्षिक गुणस्तरको नतिजा हो ।

पछिल्लो समयमा सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ्दै जाँदा विद्यार्थीको संख्यात्मक अवस्थाको आधारमा राज्यले दरबन्दी थपिदिएको छ, जुन गाउँपालिकाको शैक्षिक विकासको लागि महत्वपूर्ण कार्य हो । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई राज्यले पाठ्यपुस्तक त निःशुल्क दिन्छ त्यसमा पनि गाउँपालिकाले थप कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीहरूलाई कापी, पेन्सिल र झोला निःशुल्क दिनेगरेको छ । शैक्षिक गुणस्तरको अवस्था विगतमा भन्दा धेरै राम्रो हुँदै गए पनि शैक्षिक संस्थाहरूलाई नमुना विद्यालयको रूपमा स्थापित गराउन मर्जरको अवधारणा पनि अगाडि सारेका छौँ । मर्जर गर्ने भन्नेबित्तिकै कमजोर विद्यालय बुझ्ने चलन छ । कमजोर भएरभन्दा पनि थप मजबुतिको लागि उक्त अवधारणा अगाडि सारेका हौँ । गुणस्तरीय शिक्षाको लागि अभिभावक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि सबैले समन्वय गरेर शैक्षिक गतिविधिहरू सञ्चालन गरेका छौँ । संस्कार संकृति, श्रम, श्रद्धा र सम्मान विद्यार्थीहरूमा नभई नहुने गुणहरू भएकाले सोही प्रकृतिबाट व्यावहारिक शिक्षाको लागि विशेष पहल गर्दै आवश्यक योजनाहरू कार्यान्वयनमा ल्याएका छौँ ।

स्वास्थ्य र आर्थिक समृद्धिका लागि के–कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ?

प्रभावकारी स्वास्थ्य सेवाको लागि गत आवदेखि नै योजनाबद्ध ढंगले लागेका छौँ । गाउँपालिकास्तरीय तीनवटा ल्याबहरू सञ्चालनमा आएका छन् । ७० वर्ष काटेका र अतिविपन्न परिवारलाई निःशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराएका छौँ । स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुन नदिन सोहीअनुसारको प्रबन्ध मिलाएका छौँ । स्वास्थ्य क्षेत्रमा अर्को हाम्रो महत्वपूर्ण उपलब्धि भनेको स्वास्थ्य बच्चाको जन्मदर बढेको छ । विगतको अवस्थालाई हेर्दा करिब ३५ प्रतिशत बच्चाहरू कुपोषित जन्मिने गर्दथे ।

गर्भवती आमाको खानपानको तालमेल नमिल्दा र पर्याप्त मात्रामा पौष्टिक तत्व नपाउँदा देखिएको समस्यालाई न्यूनीकरण गर्न हामीले नियमित चेकजाँच, आवश्यक क्याल्सियम र आइरन चक्की उपलब्ध गराउनुका साथै पोषणयुक्त खानपानको लागि पनि सक्दो सहयोग गर्दै आएका छौँ । जसको कारणले पछिल्लो समयमा जन्मने बच्चाहरू धेरै स्वस्थ र ओजनदार छन् । त्यसैगरी आर्थिक विकासको लागि गाउँपालिकामा पर्याप्त सम्भावनाहरू भएकोले ती सम्भावनाहरूको अध्ययन तथा खोज गर्दै कार्यान्वयनको लागि आवश्यक प्रक्रिया अपनाउँदै कार्यसम्पादन गरेका छौँ ।

पर्यटन विकासका लागि कुनै सम्भावनाहरू छैनन् ?

गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि नजिक भएकोले धार्मिक तथा पर्यटकीय हिसाबले पनि गाउँपालिकाको स्रोत वृद्धि गर्नसक्ने आधारहरू रहेका छन् । गाउँपालिकामा भएका पर्यटकीय क्षेत्रहरूको आवश्यक प्रवद्र्धनात्मक विकास गर्दै कृषि पर्यटनमा जोड दिएका छौँ । देशमै ख्याति कमाएको छपियाको माछा, दूध, केरालगायतका कृषि उपजहरूलाई विविधिकरण गर्दै विभिन्न स्वादिष्ट खानाका परिकारहरू निर्माण गरेर एक दिनकै लागि भए पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्यस्थलको रूपमा विकास सम्भावना पनि उत्तिकै छन् ।

बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न कुनै योजनाहरू अगाडि सार्नुभएको छ ?

गाउँपालिकामा भएको युवाशक्तिलाई गाउँपालिकामै लगाउने उद्देश्यअनुरूप विभिन्न प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याएका छौँ । गाउँपालिकामा टेम्पो तथा कार चलाउन चाहने केही युवाहरूलाई तालिम पनि दियौँ भने गत वर्ष मात्र १९ वटा टेम्पो वितरण ग-यौँ । व्यावसायिक कृषि गर्न चाहनेहरू युवाहरूको लागि विभिन्न खालका अनुदान तथा सहुलियतका कार्यक्रमहरू ल्याएका छौँ । विशेष गरेर स्वरोजगार तथा रोजगार प्रवद्र्धन गर्ने व्यावसायिक, कृषि, औद्यौगिक फर्महरूलगायतका क्षेत्रहरूमा देखिएका समस्याहरूलाई समाधान गर्दै थप उपलब्धिपूर्ण बनाउने गरी योजनाहरू ल्याएका छौँ ।

गत आर्थिक वर्षमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?

अति नै राम्रो भयो । कोरोना भाइरस संक्रमणको त्रासमा लकडाउन गरिए पनि हामी शत प्रतिशत नै विकास बजेट खर्च गर्न सफल भयौँ । जुन हाम्रो लागि निकै खुशीको कुरा हो ।

चालू आर्थिक वर्षका लागि कति बजेट विनियोजन भएको छ ?

५० करोड ९५ लाख ६० हजार रूपैयाँ अनुमानित बजेट विनियोजन गरिएको छ । उक्त बजेटको खर्च पूतिीका स्रोतहरू भनेको अन्तरसरकारी वित्तीय हस्तान्तरण र आन्तरिक आम्दानी नै प्रमुख हुन् ।

बजेटले कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ?

कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकासलाई विशेष प्राथमिकता दिएको छ ।

गाउँपालिकामा सुशासनको अवस्था कस्तो छ ?

जनतालाई सुशासनको प्रत्यभूति दिलाउन कुनै कसर बाँकी राखेका छैनौँ । समग्रमा सुशासनको अवस्था एकदमै राम्रो छ । सुशासनको प्रत्याभूति दिलाउन नागरिक वडापत्र, सोधपुछ कक्षलगायत अन्य धेरै कुराहरूको व्यवस्थापन गरेका छौँ ।

कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध कस्तो छ ?

अति नै सुमधुर छ । हामीले चाहेको विकास हो । विकासका लागि हामी मिलेर अगाडि नबढी सम्भव छैन । यो कुरा जनप्रतिनिधि र कर्मचारी दुवै पक्षले राम्रोसँग बुझेका छौँ । राम्रा पक्षहरूको दुवै पक्षको ऐक्यबद्धता हुन्छ भने नराम्रा कुराहरूलाई तत्काल छलफलबाट समाधान गर्छौँ । आखिर दुवै पक्ष जनताका सेवक हौँ । उद्देश्य पनि सेवा गर्नु नै हो । त्यसैले जनताको सेवाका लागि जनप्रतिनिधि र कर्मचारी मिलेर कार्यसम्पादन गर्दै आएका छौँ ।

स्थानीय तहको समृद्धिको लागि के–कस्ता कुराहरूको आवश्यक पर्ला ?

सम्भावनाहरूको खानी नेपालमा समृद्धिको मूल फुटाउन सोचेजस्तो कठिन छैन । दृढ इच्छाशक्तिका साथ सकारात्मक सोचको विकासले हामी हाम्रो गन्तव्यको बाटो पहिल्याउन सक्छौँ । समृद्ध नेपाल निर्माणको लागि पहिला सात सय ५३ वटै स्थानीय तहहरूले समृद्धि प्राप्ति गर्नुप¥यो । समृद्धि कुनै एक क्षेत्रमा गरिएको विकासले मात्र सम्भव हुँदैन । तसर्थ स्थानीय तहको समृद्धि देशको समृद्धिको मुख्य आधार हो भन्ने मेरो बुझाइ छ । भौतिक, सामाजिक, आर्थिकलगायतका हरेक क्षेत्रहरूको विकास नै समृद्धिको आधार हो । उत्पादनमूलक क्षेत्रमा लागानी, नैतिक र व्यावहारिक शिक्षा, सामाजिक विकास, व्यावसायिक कृषिमा जोड, सम्भावित क्षेत्रहरूको अध्ययन र कार्यान्वयन गर्दै तीनै तहका सरकारबीचको सहकार्य र समन्वय सबैभन्दा महत्वपूर्ण पक्ष हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको कमेन्ट लेख्नुहोस्