Techie IT
१९ असार २०७९, आईतबार

वुहानबाट पूर्ण क्षमतामा आन्तरिक हवाइ उडान सुरु


बेइजिड. भदौ २९
कोरोनाभाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको वुहान सहरबाट पूर्ववत् रुपमा आन्तरिक उडानहरु सुरु भएको छ । वुहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि उक्त सहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । सहरमा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नुपरेको थियो ।

गत अप्रिल महिनाको सुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन् । वुहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन पाँच सयवटा आन्तरिक उडानबाट ६४ हजार सात सय यात्रुले सेवा लिएको जानकारी दिए ।

यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारी झु झियानीको भनाई उद्धृत गर्दै जनाएको छ । अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहर तथा आर्म्स्टडम र नयाँदिल्ली जस्ता गन्तव्यमा सुरु भइसकेका छन् ।

चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् । आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । चिनियाँ अस्पतालमा हाल १५१ जनाको उपचार भइरहेको र तीन सय ५७ जनालाई आइसोलेसनमा राखिएको छ । चीनमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार एक सय ८४ जना रहेका र त्यसमध्ये चार हजार छ सय ३४ जनाको मृत्यु भएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्