Techie IT
४ माघ २०७८, मंगलबार

अमेरिकाको बजेट घाटा ३० खर्ब डलर


वासिड.टन, भदौ २०
अमेरिकी बजेट घाटाले कीर्तिमान कायम गरेको छ । कोरोना महामारीका बेला विशाल आकारका राहत प्याकेज ल्याएसँगै बजेट घाटा ३० खर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।

चालू आर्थिक वर्षमा अमेरिकी संघीय सरकारले ६० खर्बभन्दा बढी अमेरिकी डलर पहिलो ११ महिनामा नै खर्च गरेको छ । यसमा २० खर्ब डलर त कोरोना महामारीसँग सम्बन्धित राहत प्याकेज रहेको ट्रेजरी डिपार्टमेन्टले जनाएको छ । यसले करबाट संकलित ३० खर्ब डलरलाई उछिनेको छ । यो घाटा सन् २००९ को पूरै वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । उक्त समयमा वासिङटनले सन् २००८ को हाउजिङ वित्तीय संकटको सामना गर्नुपरेको थियो ।

महामारीअघि यो वर्ष अमेरिका १० खर्बभन्दा बढी घाटाको ट्र्याकमा थियो । तर भाइरस महामारीबाट अर्थतन्त्र जोगाउनेतिर लाग्दा बजेट घाटा आकाशिएको हो । अमेरिकी संसद्को बजेट कार्यालयले यही महिना वार्षिक बजेट घाटा ३३ खर्ब डलर पुग्ने अनुमान गरेको थियो । जुन वर्षगत तुलनामा तेब्बर बढी हो । अमेरिकी संघीय सरकारको आर्थिक वर्ष सेप्टेम्बरमा सकिन्छ । डिपार्टमेन्टले कुल अमेरिकी ऋण २६ खर्ब डलर पुग्ने अनुमान गरेको छ ।

अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोमी पवेलले गत जुनमै अमेरिकाको खर्च दिगो नभएको बताएका थिए । अप्रिल–जुन अवधिमा अमेरिकी अर्थतन्त्रमा वार्षिक दरमा ३० प्रतिशतभन्दा बढीले संकुचित भएको थियो । अमेरिकामा कुलमध्ये २० प्रतिशत अर्थात् ३ करोड मानिसहरु बेरोजगारी लाभ लिने अवस्थामा रहेका छन् । यद्यपि महामारीका कारण बन्द व्यवसाय विस्तारै खुलिरहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्