Techie IT
५ असार २०७८, शनिबार

एडीबी भन्छ : विश्व जीडीपीमा एसिया–प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो योगदान


मनिला (फिलिपिन्स), भदौ २६
एसियाली विकास बैंक (एडीबी)ले विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा एसिया प्रशान्त क्षेत्रले सबैभन्दा ठूलो योगदान गरेको बिहीबार सार्वजनिक एक रिपोर्टमार्फत जनाएको छ । सिन्ह्वाका अनुसार सन् २०१९ मा मात्रै यो क्षेत्रले विश्व जीडीपीमा ३४.९ प्रतिशत योगदान गरेको छ । यस्तो योगदान सन् २००० मा २६.३ प्रतिशत रहेको थियो ।

एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सावादाले एक वक्तव्यमा भने, ‘बितेका दुई दशकमा एसिया प्रशान्त क्षेत्रले ठूलो विकास प्रगति गरेको छ । यसले विश्व जीडीपीमा सबैभन्दा ठूलो योगदान गर्नुका साथै दशौँ लाख मानिसलाई गरिबीमुक्त बनाएको छ ।’

एसिया प्रशान्त क्षेत्रको लागि एडीबीको वार्षिक तथ्यांक प्रतिवेदनको पछिल्लो संस्करण ‘कि इन्डिकेटर्स २०२०’ले यस क्षेत्रको आर्थिक, वित्तीय, सामाजिक तथा वातावरणीय सूचकांकहरु प्रस्तुत गरेको छ भने एडीबीका ४९ क्षेत्रीय सदस्यराष्ट्रको सन् २००० देखि २०१९ सम्मको दिगो विकास लक्ष्यका तथ्यांकलाई पनि समावेश गरेको छ ।

यस क्षेत्रका अर्थतन्त्रहरुले विश्वको कुल प्रत्यक्ष वैदेशिक लगानीको एक तिहाइ लगानी उक्त वर्ष पाएको पनि प्रतिवेदनले देखाएको छ । त्यस्तै उक्त वर्ष यस क्षेत्रको विश्व निर्यात पनि बढेर ३६.५ प्रतिशत पुगेको छ । यस्तो दर सन् २००० मा २८.४ प्रतिशत रहेको थियो । त्यस्तै यो क्षेत्रका धेरै अर्थतन्त्रले चार प्रतिशत वा बढी वृद्धिदर हासिल गरेको तथ्यांकले देखाएको छ ।

यसका बाबजुद यी उपलब्धिहरु कोभिड १९ महामारीले गुम्ने खतरा रहेको भन्दै चेतावनी पनि दिइएको छ । त्यस्तै लकडाउनका कारण बेरोजगारी दर बढ्ने र आय घट्नसक्नेतर्फ पनि रिपोर्टले सचेत गराएको छ । यससम्बन्धी मुख्य तथ्यांकहरु सन् २०१९ को सेप्टेम्बरमै सार्वजनिक गरिएको थियो । यसमा सन् २००० यताका १ हजार १ सय तथ्यांकगत सूचकांकहरु समावेश गरिएको छ । एडीबी सन् १९६६ मा स्थापना गरिएको थियो । ६८ सदस्य राष्ट्रले स्थापना गरेको यो बैंकमा यस क्षेत्रका ४९ सदस्य राष्ट्र रहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्