Techie IT
१० कात्तिक २०७८, बुधबार

गुगलका पूर्वकर्मचारी इन्जिनियरविरुद्ध १८ महिने जेल सजाय


अमेरिका, साउन २२
सर्चइन्जिन जायन्ट गुगलका पूर्वकर्मचारी इन्जिनियरलाई जेल सजाय भएको छ । गुगलको स्वचालित कार युनिटमा काम गरेका इन्जिनियर एन्थोनी लेवान्डोस्कीविरुद्ध अमेरिकी जिल्ला अदालतले १८ महिने जेल सजाय सुनाएको हो । उनीविरुद्ध उबेरमा सम्बद्धता हुनुअघि व्यापार गोप्यता कुरा चोरी गरेको अभियोग लागेको थियो । सनफ्रान्सिस्कोको एक अदालतले व्यापारको गोप्य कुरा चोरी गरेको भन्दै उक्त सजाय सुनाएको हो ।

लेवान्डोस्कीले गुगलको १४ हजार फाइल आफ्नो ल्यापटपमा ट्रान्सफर गरेर कम्पनी छोडेका थिए । यो सन् २०१६ को जनवरीमा उनले गुगल छोड्नुअघिको घटना हो । उनले उबेरमा जोडिएपछि रोबोकार परियोजनाको नेतृत्व गरेका थिए । तर यो मुद्दा आएसँगै सन् २०१७ मा कम्पनीबाट निकालिएका थिए । उनी मार्चमा आर्थिक संकटमा डुबेका थिए ।

उनको गल्तीका कारण गुगलको मातृकम्पनी अल्फाबेटलाई उनले १७ करोड ९० लाख अमेरिकी डलर तिर्नुपर्ने भएको छ । लेवान्डोस्की गुगलको स्वचालित कार परियोजना वाइमोका संस्थापक सदस्य समेत हुन् । उनले आफू निमोनियाको बिरामी रहेको भन्दै १२ महिना मात्र जेल बस्नुपर्ने आशा गरेका थिए ।

मुद्दा अभियोजनकर्ताले भने उनीविरुद्ध २७ महिनाको जेल सजाय मागदाबी गरेका थिए । उनले कोरोनाको प्रभाव उच्च विन्दुमा पुगेर झर्नथालेपछि जेल सजाय सुरु गर्न सक्ने अदालतले बताएको छ । लेवान्डोस्कीले अहिले स्वचालित ट्रक कम्पनी प्रोन्टोमा कार्यरत छन् । उनले एक विज्ञप्ति जारी गर्दै साढे ३ वर्षयता चलेको मुद्दा सकिएको र अब नयाँ यात्रा सुरु भएको जनाएका छन् ।

उबेरले गुगलसँग व्यापार गोप्यता चोरीसम्बन्धी मुद्दा सल्टाइसकेको छ तर दुई कम्पनीबीचको मामिला भने अझै टुंगिनसकेको छैन । टेक क्रन्च नामक अनलाइनका अनुसार लेवान्डोस्कीले उवेरविरुद्ध ४ अर्ब १० करोड अमेरिकी डलर मागदाबीसहित मुद्दा हाल्ने तयारीमा छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्