Techie IT
४ माघ २०७८, मंगलबार

अमेरिकाले चीनको सिन्जियाङबाट हुने मुख्य निर्यातमा रोक लगाउने


वासिड.टन, भदौ २५
अमेरिकाले चिनियाँ सिन्जियाङ क्षेत्रबाट हुने मुख्य निर्यातमा प्रतिबन्ध लगाउने भएको छ । त्यहाँ मजदुरमाथि अत्याचार गरेको आरोप लगाउँदै अमेरिकाले उक्त निर्णय गरेको जनाइएको छ । प्रस्तावित प्रतिबन्धमा कटन र टोमाटो लगायतका वस्तुहरु पर्नेछन् । दुवै वस्तु चीनको मुख्य निर्यात वस्तु हो ।

ट्रम्प प्रशासनले सिन्जियाङको उइगुर मुस्लिममाथि अत्याचार गरेको भन्दै चीनमाथि दबाब दिँदै आएको छ । पछिल्लो कदम यसकै उपज हो । बितेका वर्षहरुमा चीनले सिन्जियाङमा सुरक्षा व्यवस्था कडा पारेको छ । चीनले पृथकतावादी र आतंककारी आक्रमण हुने भन्दै सुरक्षामा कडाइ गर्दै आएको छ ।

सिन्जियाङमा १० लाख मानिसहरुलाई चीनले जबर्जस्ती नियन्त्रणमा लिएको बताइने गरेको छ । अमेरिकाको भन्सार तथा सीमा संरक्षण (सीबीपी)ले शिपमेन्ट भइसकेका कयौँ शंकास्पद वस्तुहरुमा मजदुरलाई बाध्य पारी उत्पादन गरिएको आशंकामा रोक्नसक्ने गरी काम गरिरहेको बताइएको छ ।

चीनले विश्वको कुल कटनको २० प्रतिशत कटन सिन्जियाङबाटै उत्पादन गर्छ । उक्त क्षेत्र पेट्रोकेमिकल र अन्य सामान (जुन चिनियाँ कलकारखानालाई चाहिन्छ) उत्पादनको मुख्य स्रोत हो । गत हप्ता मात्रै अमेरिकी मनोरञ्जन कम्पनी डिस्नेले सिन्जियाङ प्रान्तमा फिल्म सुटिङ गरेको भन्दै आलोचना भएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्