Techie IT
१३ असोज २०७९, बिहीबार

फेसबुकले बंगलादेशलाई भन्यो– ‘करसम्बन्धी कानुनको पूर्ण पालना गर्छौँ’


ढाका, भदौ २४
विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले बंगलादेशको कर र मूल्यअभिवृद्धि करसम्बन्धी कानुन पूर्ण रुपमा पालना गर्ने भन्दै बंगलादेशी अधिकारीहरुलाई आश्वस्त पारेको छ । बंगलादेशी मिडियाहरुका अनुुसार फेसबुकको प्रतिनिधित्व गर्ने एक समूहले बंगलादेशी दूरसञ्चार नियमन आयोग (बीटीआरसी) सँग मासिक बैठक गर्न पनि सहमति जनाएको छ ।

यससम्बन्धी जानकारी दूरसञ्चारमन्त्री मुस्ताफा जबरले दिएका हुन् । उक्त समूहले नियामकीय पक्षलाई गम्भीर रुपले लिएर डिजिटल सुरक्षा ऐन २०१८ तथा कर तथा मूल्यअभिवृद्धि करसम्बन्धी ऐनको पालना गर्ने बताएको मन्त्री जबरले बताए । द डेली स्टार अनलाइनका अनुसार जबरले फेसबुकको सिंगापुरमा रहेको क्षेत्रीय मुख्यालयका अधिकारीसँग भर्चुअल बैठक गरेका थिए । सो क्रममा मन्त्री जबरले बंगलादेशको गम्भीर सूचनाहरु चुहावट हुन नदिन फेसबुकका अधिकारीहरुलाई अनुरोध गरेका थिए । त्यस्तै अश्लीलता र सामाजिक सांस्कृतिक मूल्य र मान्यताविपरीतका पोस्टहरुमा कडाइ गर्न उनले आग्रह गरेका थिए ।

गत अप्रिलमा फेसबुकले बंगलादेशमा फ्याक्ट चेक (तथ्य जाँच) कार्यक्रम नै सुरु गरेको थियो । यसले गलत सूचना प्रवाहमा अंकुश लाग्ने बताइएको छ । मन्त्री जबरले फेसबुकलाई बंगलादेशका लागि प्रतिनिधि तोक्न समेत आग्रह गरेका थिए । त्यसो गर्दा कम्पनीलाई बंगलादेशको राष्ट्रिय राजस्व बोर्डमा कर तिर्न सहज हुने उनले बताएका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्