Techie IT
१० असार २०७८, बिहीबार

अमेरिकी बेरोजगारी दर घटेर १० प्रतिशत तल


वासिड.टन, भदौ २१
अगस्ट महिनामा अमेरिकी बेरोजगारी दर घटेर १० प्रतिशतभन्दा तल पुगेको छ । केही कम्पनीहरुले नयाँ र अस्थायी कर्मचारी नियुक्ति थालेपछि बेरोजगारीमा सुधार भएको बताइएको छ ।

ती कम्पनीहरुले उक्त महिना १४ लाख नयाँ रोजगारी सिर्जना गरेका छन् । सार्वजनिक तथ्यांकअनुसार कोरोनाको महामारी सुरु भएयता बेरोजगारी दर पहिलोपटक १० प्रतिशतभन्दा तल पुगेको हो । त्यस्तै लगातार चार महिनायता अमेरिकाको रोजगारीमा निरन्तर सुधार देखिएको छ । कोरोनाभाइरस संक्रमणको त्रासले गरिएका कडाइ खुकुलो हुनथालेपछि आर्थिक क्षेत्र पनि जुर्मुराउन थालेको एजेन्सीहरुले बताएका छन् ।

यसका बाबजुद फेब्रुअरी महिनाको बेरोजगारी दरभन्दा अहिलेको नयाँ दर अझै बढी रहेको छ । अप्रिलमा अमेरिकी राज्यहरुले नागरिकलाई घरमै बस्ने आदेश जारी गरेका थिए । सो आदेशसँगै व्यापार व्यवसाय ठप्प हुँदा अमेरिकाको बेरोजगारी दर १४.७ प्रतिशतसम्म पुगेको थियो । अहिले सुधारको संकेत देखिए पनि यो दिगो नभएको बताइएको छ ।

अमेरिकामा सरकारले दिने राहत प्याकेज र साना व्यवसायीले पाउने अनुदान सुविधा बन्द भइसकेको छ । ह्वाइट हाउस र संसदबीच कुरा नमिल्दा पछिल्लोपटक राहत प्याकेज पारित भएन । तर अर्थशास्त्रीहरुले भने फेब्रुअरीकै अवस्थामा फर्किन अझै नौ महिना कुर्नुपर्ने बताएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्