Techie IT
बिहीबार, असोज १५,२०७७

४० करोड डलरका दुई पाकिस्तानी परियोजना स्वीकृत


इस्लामाबाद, साउन २१
विश्व बैंकले पाकिस्तानका दुई परियोजना स्वीकृत गरेको छ । ती परियोजना ४० करोड अमेरिकी डलरका हुन् । पाकिस्तानमा खाद्य असुरक्षा घटाउन र कोभिड १९ ले बन्द रहेका विद्यालयमा शैक्षिक गतिविधि पुनर्सञ्चालनका लागि उक्त डलरको कार्यक्रम विश्व बैंकले स्वीकृत गरेको पाकिस्तानी मिडियाहरुले जनाएका छन् ।

दुई परियोजनाका लागि विश्व बैंकले ४० करोड डलर दिनेछ भने २०/२० करोडमा रकम विभाजन गरिनेछ । पहिलो परियोजना सलह संकट र खाद्य सुरक्षा परियोजना हो । यस वर्ष पाकिस्तान, भारत हुँदै सलह नेपाल आएको थियो । सलहले थप संकट नल्याओस् भनेर यो परियोजना कार्यान्वयन गर्न विश्व बैंकले परियोजना स्वीकृत गरेको हो ।

२० करोड डलरमध्ये १२ करोड ५० लाख डलर क्षेत्रीय अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट प्राप्त हुनेछ । सलहले खाद्यबालीमा नोक्सान पार्दा खाद्य असुरक्षा बढ्ने भएकाले यो परियोजनाले थप क्षति हुन नदिने बताइएको छ । सलहले सखाप पारेको अवस्थामा १५ अर्ब डलरभन्दा माथिको नोक्सानी हुनसक्ने आँकलन गरिएको छ । यसले पाकिस्तानमा खाद्य जोखिम बढाउनसक्नेछ ।

पाकिस्तानमा २० प्रतिशत जनसंख्या कुपोषित, ४० प्रतिशत जनसंख्या बहुविध गरिबी र २५ प्रतिशत जनसंख्या राष्ट्रिय गरिबीको रेखामुन रहेका छन् । विश्व बैंकको कार्यकारी निर्देशकीय बोर्डले दुई परियोजना स्वीकृत गरेको हो । सलह र कोभिड १९ ले निम्त्याएको संकट व्यवस्थापन गर्न आकस्मिक रुपमा उक्त सहयोग स्वीकृत गरेको पाकिस्तानका लागि विश्व बैंकका देशीय निर्देशक इलांगो पाचामुथुले बताए ।

यो परियोजनाले पाकिस्तानको कृषिमा आश्रित अर्थतन्त्रलाई जोगाउने र शैक्षिक प्रणाली सुधारबाट मानव पुँजीको संरक्षण हुने बताइएको छ । त्यस्तै आईडीएबाट आउने २० करोड ऋणले कोभिड १९ ले शैक्षिक क्षेत्रमा निम्त्याएको संकट व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्