खाद्य सुरक्षाका लागि विश्व बैंकबाट बंगलादेशलाई २० करोड डलर
ढाका, साउन २१
दक्षिण एसियाली राष्ट्र बंगलादेशले विश्व बैंकबाट खाद्य सुरक्षाका लागि २० करोड २० लाख अमेरिकी डलर प्राप्त गरेको छ । बैंकको कार्यकारी निर्देशकहरुको बोर्डले उक्त रकम स्वीकृत गरेको हो । मोडर्न फुड स्टोरेज फेसिलिटी परियोजनामा उक्त रकम खर्च हुनेछ । उक्त रकमबाट ५ लाख ३५ हजार ५ सय टन खाद्यान्न सञ्चिति हुने र त्यसले ४५ लाख घरपरिवारलाई धान्ने बताइएको छ ।
कोरोना महामारीको चुनौतीपूर्ण समयमा बंगलादेशलाई खाद्य असुरक्षामा सहयोगस्वरुप उक्त परियोजना सञ्चालित छ । यसबाट आठ सार्वजनिक अत्याधुनिक गेडागुडी सञ्चय घर बनाइनेछ । आठ जिल्लामा बनाइने त्यस्ता सञ्चय घरमा धान र गहुँजस्ता खाद्यान्न सञ्चिति गरिनेछ । अहिले असुगञ्ज, माधुपुर र मिनेसिंहमा यस्ता सञ्चय घर निर्माणको चरणमा छन् ।
थप सहयोग रकमले ढाका, नारायणगञ्ज र बरिसालमा धानचामलको लागि र चटगाउँ र माहेश्वरपासामा गहुँको लागि सञ्चय गृह बनाउन मद्दत मिल्नेछ । बंगलादेशमा ८० प्रतिशत मानिस गाउँमा बस्छन् । उनीहरुले प्राकृतिक प्रकोपजन्य समस्या सहनुपर्ने बाध्यता छ । अहिले प्रस्ताव गरिएको मोडर्न फुड स्टोरेज सिस्टममा वितरण प्रणालीलाई पनि ध्यान दिएकोले खाद्य असुरक्षा निराकरणमा बैंकको सहयोगले मद्दत गर्नेछ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्