Techie IT
१२ साउन २०७८, मंगलबार

अमेरिका र यसका मित्रराष्ट्रले आफूमाथि माइक्रोसफ्टमा हृयाकिङको बनावटी आरोप लगाए


बेइजिड. ।  चीनले अमेरिकी कम्पनी माइक्रोसफ्ट ह्याकिङमा बेइजिङलाई मुछेको भन्दै अमेरिका र यसका मित्रराष्ट्रले बनावटी आरोप लगाएको बताएको छ । अमेरिकासहित पश्चिमा राष्ट्रले सोमबार माइक्रोासफ्ट एक्सचेन्जमा भएको ह्याकिङमा चीनको संलग्नता रहेको आरोप लगाएका थिए ।

माइक्रोसफ्ट एक्सचेन्ज कम्पनीहरुले विश्वव्यापी रुपमा इमेल प्लेटफर्मका रुपमा प्रयोग गर्दै आएका छन् । पछिल्लो ह्याकिङले विश्व सुरक्षामा चुनौती थपेको ती देशहरुले आरोप लगाएका छन् । चीनले भने सबैखाले साइबर अपराधको विपक्षमा रहेको भन्दै उक्त आरोपलाई बनिबनाउको संज्ञा दिएको छ ।

‘अमेरिकाले आफ्ना पक्षराष्ट्रलाई साइबर सुरक्षाको मुद्दामा अकारण चीनको आलोचना गर्न उक्साइरहेको छ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा भने । बेलायत, युरोपेली संघ, न्युजिल्यान्ड र अस्ट्रेलियाले अमेरिकाकै पक्ष लिई चीनमाथि राज्यसमर्थित मालिसिअस साइबर एक्टिभिटीमा संलग्न ह्याकरको आरोप लगाएका थिए । उनीहरुले माइक्रोसफ्ट ह्याकिङमा समेत चिनियाँ राज्यसमर्थित ह्याकरको संलग्नता रहेको दाबी गरेका छन् ।

माइक्रोसफ्टको एक्सचेन्ज प्रणालीमा ह्याक हुँदा ३० हजार संघ/संस्था प्रभावित भएको बताइएको छ । माइक्रोसफ्टले चीनमाथि ठाडो आरोप लगाएको छ । हाफनियम नामक समूहमाथि माइक्रोसफ्टको आरोप छ । कम्पनीको थ्रेट इन्टेलिजेन्स सेन्टरले चीनसमर्थित यही समूहले चीनबाहिर रहेर साइबर आक्रमण गरेको दाबी गरेको छ ।

बेलायतले चीनलाई पहिल्यैदेखि यस्तो कार्य नगर्न बताउँदै आए पनि बेवास्ता गरेको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने चीन सरकार आफैँ यसमा संलग्न नभए पनि त्यस्ता आक्रमणकारीलाई संरक्षकत्व प्रदान गरिरहेको दाबी गरेका छन् । अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले चिनियाँ गृह सुरक्षा मन्त्रालयसँग सम्बन्धित चार ह्याकरविरुद्ध आपराधिक मुद्दा अघि बढाएको सोमबार जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्