Techie IT
शुक्रबार, असोज ९,२०७७

लाइभ भिडियो सेवाप्रदायक जुमको नाफा दोब्बरले वृद्धि


अमेरिका, भदौ १७
चर्चित लाइभ भिडियो सेवाप्रदायक जुम कम्पनीको नाफा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । कोरोना महामारीका कारण कम्पनीको लोकप्रियता र प्रयोग बढेसँगै आम्दानी आकाशिएको हो । कम्पनीको आम्दानीमात्रै तीन महिनामा तीन सय ५५ प्रतिशतले बढेर ६६ करोड ३५ लाख अमेरिकी डलर पुगेको छ । यो जुलाई ३१ सम्मको तीन महिनाको तथ्यांक हो ।

विश्लेषकहरुले ५० करोड पाँच लाखको हाराहारीमा आम्दानी हुने अनुमान गरेका थिए । त्यस्तै कम्पनीको नाफा पनि बढेर १८ करोड ६० लाख अमेरिकी डलर पुगेको छ भने सन् २०१९ को सोही अवधिको तुलनामा कम्पनीको ग्राहक वृद्धिदर समेत चार सय ५८ प्रतिशतले बढेको छ । महामारीका बेला कार्यालयीय भर्चुअल बैठकका लागि जुम एप निर्विकल्प माध्यमजस्तै बनेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता ३२५.१० अमेरिकी डलर पुगेर कीर्तिमान कायम भएको थियो ।

कम्पनीले वार्षिक अनुमानित आम्दानीको भन्दा ३० प्रतिशत धेरै अर्थात् २ अर्ब ३७ करोड डलरदेखि २ अर्ब ३९ करोडको बीचमा आम्दानी गर्न सफल भएको हो । यसअघि १ अर्ब ७८ करोडदेखि १ अर्ब ८० करोडको हाराहारीमा आम्दानी हुने अनुमान गरिएको थियो । कम्पनीले सफलता पाउनुमा खर्च गर्ने ग्राहक र उच्च आम्दानी दिनसक्ने व्यावसायिक संघ/संस्था रहेको बताइएको छ ।

कम्पनीका ग्राहकमध्ये कम्पनीबाट मात्रै १ लाख डलरभन्दा बढी गत वर्षमा आएको थियो । उक्त तीन महिनामा मात्रै उक्त ग्राहक पनि झण्डै दोब्बरले बढेको छ । त्यसो त जुमका प्रतिस्पर्धी लाइभ भिडियो कम्पनी सिस्को वेबेक्स र माइक्रोसफ्ट टिम्सको पनि लकडाउन भएयता आम्दानी र ग्राहक बढेका छन् । तर यो जुमको तुलनामा निकै कम छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्