Techie IT
सोमबार, असोज १२,२०७७

ग्याटविकको यात्रु संख्या डेढ करोडले घट्यो


लन्डन, भदौ १५
ग्याटविक एयरपोर्टको यात्रु संख्यामा ह्वात्तै गिरावट आएको छ । सन् २०२० को पहिलो छ महिनासम्ममा १ करोड ४७ लाखले यात्रु घटेको एयरपोर्टले जनाएको छ । कोरोना महामारीका कारण विश्वभर यात्रा प्रतिबन्ध जारी गरेपछि विमानस्थलको यात्रु घटेको छ । व्यवसाय उँधो लागेपछि कम्पनीले ३४ करोड ४० लाख पाउन्ड स्टर्लिङ घाटा व्यहोरिसकेको छ ।

सामान्य अवस्थामा फर्किने संकेत अझैसम्म नदेखिएको ग्याटविकले जनाएको छ । उसले कोभिड महामारी सुरु हुनुअघिको अवस्थामा फर्किन चार/पाँच वर्ष लाग्ने समेत बताएको छ । बेलायतको वेस्ट ससेक्समा रहेको विमानस्थलले महामारीको कारण नराम्ररी आर्थिक नोक्सानी व्यहोरेको छ ।

विमान सेवा प्रदायक भर्जिन एटलान्टिकले ग्याटविकको अपरेसन बन्द गर्ने जनाइसकेको छ भने ब्रिटिश एयरवेजले पनि छोटो दूरीका उडान हिथ्रोमा शिफ्ट गरेको छ । उक्त विमानस्थलमा उसले धेरै कर्मचारी कटौती समेत गरिसकेको छ । तथ्यांकअनुसार ग्याटविक भएर यात्रा गर्ने संख्या ६६ प्रतिशतले घटेर केवल ७५ लाखमा झरेको छ । यो जुनसम्मको छ महिने तथ्यांक हो ।

विमानस्थलले यो अवधिमा ३४ करोड ३९ लाख करअघिको नोक्सानी व्यहोरेको छ । एक वर्षअघिको सोही समयमा कम्पनीले ५ करोड ९४ लाख नाफा आर्जन गरेको थियो । विमानस्थलले यसअघि नै छ सय रोजगारी कटौती गर्ने योजना घोषणा गरिसकेको छ । अहिले ७५ प्रतिशत कर्मचारीले सरकारले दिएको राहत स्किममा काम गरिरहेका छन् भने त्यो सुविधा अक्टोबरपछि बन्द हुनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्