Techie IT
बुधबार, असोज १४,२०७७

टिकटक किन्ने दौडमा वालमार्ट पनि थपियो


अमेरिका, भदौ १५
अमेरिकी खुद्रा बिक्रेता चेन सुपरमार्केट वालमार्ट पनि चिनियाँ भिडियो सेयरिङ एप किन्ने दौडमा थपिएको छ । उसले टिकटकको अमेरिकामा रहेको व्यवसाय खरिदका लागि माइक्रोसफ्टसँग साझेदारी गर्ने बताएका हुन् । वालमार्टले बीबीसीलाई दिएको जानकारी अनुसार आफ्नो व्यवसाय सञ्चालनमा सघाउ पुग्नसक्ने आँकलनसाथ ‘टिम अप’ गर्ने बताएको हो ।

अमेरिकाले टिकटक बिक्रीको लागि ९० दिनको समयसीमा तोकिसकेको छ । यो अवधिमा अहिले स्वामित्व बोकेको बाइटीडान्सले अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्नुपर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमार्फत अमेरिकी नागरिकको निजी गोपनीयता बाइटीडान्ससम्म पुग्ने र उसले चिनियाँ कम्युनिष्ट पार्टीलाई उक्त विवरण पठाउने भएकाले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम हुने भन्दै प्रतिबन्धको घोषणा गरेका हुन् । चीनले भने अमेरिकाको यस्तो आरोपको खण्डन गर्दै आएको छ ।

बिहीबारमात्रै टिकटकका सीईओले राजीनामा दिएका थिए । वालमार्टका प्रवक्ताले दुई कम्पनीको साझेदारीमा हुने खरिदले अमेरिकी प्रयोगकर्ता र सरकार दुवैलाई सन्तुष्ट पार्ने बताए । माइक्रोसफ्टले भने अगस्टको सुरुदेखि नै टिकटक खरिदका लागि छलफल गर्दै आएको छ । वालमार्टले बेलायती सुपरमार्केट चेन आस्डाको पनि स्वामित्व लिएको छ । टिकटक खरिदकै दौडमा अर्को अमेरिकी प्रविधि कम्पनी ओरेकललाई पनि सम्भावित खरिदकर्ता मानिएको छ ।

एजेन्सीहरुका अनुसार टिकटकको अमेरिकामा ३० अर्ब डलरबराबरको व्यवसाय रहेको छ । सन् २०१८ को अन्त्यतिर सार्वजनिक भएको टिकटकले छोटो समयमै आकर्षण बटुलिसकेको छ । खासगरी २५ वर्षमुनिका युवामाझ यो एप सर्वाधिक चर्चित छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्