Techie IT
आईतबार, असोज ४,२०७७

विदेशी पर्यटकलाई मलेसियामा थप समय प्रतिबन्ध


क्वालालम्पुर, भदौ १५
मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिबन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।एपीका अनुसार विदेशी पर्यटकलाई लगाइएको प्रतिबन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पु-याइएको पनि उनीहरुले बताएका छन् ।

मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्बोधन गर्दै विश्वभर नै कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहेकाले अन्तर्देशीय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे । उनले आफ्नै देशमा पनि संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेकोले अन्तरिक सतर्कता पनि उत्तिकै बढाउनुपर्ने आवश्यकतामा जोड दिए । बेलामा सचेत नभएर लापरबाही गरिएमा अनियन्त्रित अवस्था सृजना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिएका छन् ।

मलेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने अरु एक सय २५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । थप प्रतिबन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका मुहिद्धिनले बताएका छन् ।

नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताएका छन् । मलेसियामा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर वा साबुनको प्रयोगमा ध्यान दिनेलगायतका आधारभूत स्वास्थ्य मापदण्डहरु भने पालना गरिरहनु पर्नेमा सवैले आह्वान गरिरहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्