Techie IT
बिहीबार, असोज १५,२०७७

भारतमा एकै दिन करिब ७९ हजार व्यक्तिलाई कोरोना संक्रमण


नयाँ दिल्ली, भदौ १५
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या वृद्धि हुँदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार सात सय ६१ जना कोरोनाभाइरसबाट संक्रमित भएको जानकारी दिएको छ ।

मन्त्रालयले आइतबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार योसँगै भारतका कुल संक्रमितहरुको संख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ । पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या नौ सय ४८ रहेको उल्लेख गरिएको छ । भारतमा कोरोनाका कारण संक्रमित भएकामध्ये सात लाख ६५ हजार तीन सय दुई जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

कुल संक्रमित मध्ये २७ लाख १३ हजार नौ सय ३४ जना भने संक्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार चार सय ९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार चार सय ६७ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्ध्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् । रासस/एएनआई (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्