Techie IT
१७ माघ २०७९, मंगलबार

नेपालसँग पीटीए सम्झौता गर्ने बंगलादेशको चाहना


ढाका ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले द्विदेशीय हितका लागि नेपाल र बंगलादेशबीच प्रिफरेन्सियल ट्रेड एग्रिमेन्ट (पीटीए) अर्थात् विशेष सुविधायुक्त व्यापार सम्झौता गर्नुपर्ने कुरामा जोड दिएकी छिन् । दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार बंगलादेश पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै प्रधानमन्त्री हसिनाले व्यापार र वाणिज्य क्षेत्रमा दुवै देशले सहकार्य गर्नुपर्ने बताएकी हुन् ।

राजधानी ढाकामा रहेको होटल इन्टरकन्टिनेन्टलमा नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै उनले पीटीएले दुवै देशलाई फाइदा पुग्ने बताइन् । दुई देशका नेतृद्वयको भेटबारे बंगलादेशी प्रधानमन्त्रीका प्रेस सचिव ईशानुल करिमले पत्रकारहरुलाई जानकारी गराएका थिए ।

भेटका क्रममा प्रधानमन्त्री हसिनाले सन् १९७१ म बंगलादेशको स्वतन्त्रता संग्रामका क्रममा नेपालले नैतिक र भौतिक सहयोग गरेको बताउँदै उनले नेपालले स्वतन्त्रका लागि लड्ने बंगलादेशी योद्धालाई हतियार उपलब्ध गराएको बताइन् । हसिनाले नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेशको चटग्राम र मोंग्ला बन्दरगाह तथा सइदपुर विमानस्थल प्रयोग गर्न आग्रह समेत गरिन् । ‘हामी सइदपुर एयरपोर्टलाई क्षेत्रीय विमानस्थलमा रुपान्तरण गर्दै छौँ’, हसिनाले नेपालकी राष्ट्रपतिसँग भनिन् ।

त्यस्तै उनले बंगलादेश, भुटान, नेपाल र भारतबीचको बीबीआईएन सडक सम्झौतालाई उल्लेख गर्दै यसले छिमेकी देशबीच व्यापारलाई बढाउन सहयोग गर्ने बताइन् । उनले नेपाल र भारतले आपसी सहकार्यमा हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट बनाउन सक्ने सुझाव दिँदै यसले तीनवटै देशलाई फाइदा गर्ने बताइन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्