Techie IT
आईतबार, असोज ४,२०७७

अमोनियम नाइट्रेट: डाकरमा बेइरुत जत्तिकै बस्ती नजिक र उत्तिकै परिमाणमा रहेको भन्दै हटाउन आदेश


काठमाडौं,भदौ ६

बेइरुतमा जत्तिकै बस्ती नजिकै रहेको सेनेगलको राजधानी डाकरस्थित बन्दरगाहमा ठूलो मात्रामा रहेको अमोनियम नाइट्रेट हटाउन भनिएको अधिकारीहरूले बताएका छन्।

सेनेगलका अधिकारीहरूले राजधानी डाकरको एक बन्दरगाहमा रहेको २,७०० टन अमोनियम नाइट्रेट हटाउन भनिएको बताएका छन्।

बेइरुतमा विशाल विस्फोट भएपछि अमोनियम नाइट्रेटबारे संसारभरि चर्चा चुलिएको छ।

डाकरको बन्दरगाहमा रहेको उक्त अमोनियम नाइट्रेट लेबननको राजधानी बेइरुतमा जत्तिकै बस्ती नजिकै रहेको छ।

अधिकारीहरूले उक्त रसायन छिमेकी मालीमा पठाउन लागिएको ३,०५० टन मागको एक अंश भएको बताएका छन्।

बन्दरगाहका अधिकारीहरूले यस अघि ३५० टन माली पठाइसकिएको बताएका छन्।

वातावरणीय प्रभाव मूल्याङ्कन

सरकारले उक्त सामानका मालिकलाई डाकरदेखि ३० किलोमिटर टाढाको डायमनियाडियोमा भण्डारण गर्न भनिएको बताएका छन्।

तर वातावरण मन्त्रालयले अझसम्म त्यो अनुरोधलाई अनुमति दिइसकेको छैन। सारिने स्थानको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कन गरिनुपर्ने मन्त्रालयले बताएको छ।

मन्त्रालयका एक अधिकारी बाबा ड्रामेले एएफपी न्यूज एजेन्सीलाई भने, “हामीले त्यो अमोनियम नाइट्रेट सेनेगल बाहिर लग्न भनिसकेका छौँ।”

त्यो अमोनियम नाइट्रेटका मालिक को हुन् र मालीमा के गर्न लग्न लागिएको हो प्रस्ट भएको छैन।

बन्दरगाहका अधिकारीले उक्त परिमाण कहिले त्यहाँ आइपुगेको थियो भन्ने मिति खुलाएका छैनन्।

मालीमा हालै राष्ट्रपति इब्रहिम बुबाकर केयटालाई अपदस्थ गरिएकाले उत्पन्न वर्तमान राजनीतिक अस्थिरताका कारण उक्त परिणाम बाली लग्ने कार्य चुनौतीपूर्ण रहेको बताइएको छ।

बेइरुतमा भएको विस्फोटले शहरमा ठूलो ध्वंश भएको छ। विस्फोटमा परेर २०० जनाभन्दा बढी मानिस मारिएका थिए र शहरभरिका भवनमा क्षति पुगेको छ। (वीवीसी नेपाली सेवा बाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्