Techie IT
आईतबार, मंसीर २१,२०७७

कोरोना संक्रमितको संख्या दुई करोड २० लाख पुग्यो


मेरील्याण्ड, भदौ ४
कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको संख्या दुई करोड २० लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि अहिलेसम्म दुई करोड १९ लाख ८७ हजार दुई सय सात जना संक्रमित भएका छन् । कुल संक्रमितमध्ये सात लाख ७७ हजार १८ जनाको मृत्यु भइसकेको विश्वविद्यालयले जनाएको छ ।

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा अहिलेसम्म ५४ लाख ८० हजार चार सय ८७ जना संक्रमित भएका छन् भने एक लाख ७१ हजार छ सय ३६ जनाको मृत्यु भएको छ । अमेरिकापछि दोस्रो धेरै प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३३ लाख ५९ हजार पाँच सय ७० जना संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार पाँच सय ३६ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । विश्वभरी दैनिक संक्रमितको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि वृद्धि हुँदै गएको छ । दक्षिण एसियामा भारतमा सबैभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । पछिल्लो विवरणअनुसार भारतमा करिब २७ लाख ६९ हजार संक्रमित भएका र तीमध्ये ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतमा थप ६४ हजार संक्रमित : यसैबीच, भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार पाँच सय ३१ जना संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या २७ लाख ६७ हजार दुई सय ७४ पुगेको मन्त्रालयको तथ्यांक छ ।

कुल संक्रमितमध्ये भारतमा अहिले पनि छ लाख ७६ हजार पाँच सय १४ जना संक्रमित अवस्थामै रहेका छन् । अरु २० लाख ३७ हजार आठ सय ७१ जना भने संक्रमणमुक्त भइसकेका छन् । भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ५२ हजार आठ सय ८९ जनाको मृत्यु भएको छ । मन्त्रालयले अहिलेसम्म देशभरी तीन करोड १७ लाख ४२ हजार सात सय ८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्