Techie IT
शुक्रबार, मंसीर १२,२०७७

चीन छोड्ने कम्पनीलाई अमेरिकाले कर सहुलियत दिने

चीन नछोडे सरकारी सम्झौता रद्द गर्छौँ : ट्रम्प


वासिड.टन, भदौ ३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आफ्ना कारखानाहरु अमेरिका सरे करमा सहुलियत दिने बताएका छन् । त्यसरी अमेरिका नफर्किने कम्पनीलाई भने कारबाही गरिने उनले बताएका छन् । अटेरी कम्पनीलाई सरकारले गरेको सम्झौता पनि रद्द गर्नसक्ने चेतावनी उनले दिएको बीबीसीले जनाएको छ ।

सोमबार एक सार्वजनिक भाषणका क्रममा ट्रम्पले अमेरिकामा १० महिनामा १ करोड रोजगारी सिर्जना गर्ने र चीनसँगको अमेरिकी निर्भरता हटाउने घोषणा गरेको बताइएको छ । यो ट्रम्पले चीनविरुद्ध दिएको पछिल्लो आक्रामक अभिव्यक्ति हो । यसअघि नै उनले विच्याट, टिकटकजस्ता च्याटमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन् भने चिनियाँ कम्पनी हुवावेलाई दण्डित गर्दै आएका छन् । सोमबार मात्रै हुवावेविरुद्ध थप प्रतिबन्ध लगाउने अमेरिकाले बताएको थियो । केही महिनायता चीन–अमेरिका विवादले तीव्रता पाएको छ ।

चिनियाँ प्रविधिले अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरामा पारेको ट्रम्प प्रशासनले बारम्बार बताउँदै आएको छ । तर सम्बद्ध चिनियाँ कम्पनीले भने अमेरिकी आरोप कहिल्यै पुष्टि नहुने भन्दै अस्वीकार गर्दै आएका छन् । चीनबाट कारखाना अमेरिका भित्र्याउने कम्पनीलाई करमा सहुलियत दिने उनले बताए । कार्यक्रममा उनले भने, ‘हामी चीनबाट अमेरिकामा रोजगारी भित्र्याउन आउने कम्पनीलाई करमा सहुलियत दिन्छौँ । हामी संसारकै विशाल अर्थतन्त्र बनाउँछौँ ।’ अमेरिकाले थप चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिइरहेको छ । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले चीनविरुद्ध कडा अभिव्यक्ति दिनथालेका छन् । सोमबार भाषणका क्रममा ट्रम्पले महत्वपूर्ण औषधि र आपूर्ति व्यवस्था अमेरिकामै गरिने बताएका थिए ।

धेरै अमेरिकी उत्पादन अमेरिकाबाहिर बन्ने गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक कम्पनी एप्पलले ताइवानी कम्पनी फक्सकनबाट आफ्नो सर्वाधिक बिक्री हुने आईफोनको धेरै उत्पादन गराउँदै आएको छ । कोरोना महामारी उत्कर्षमा पुगिरहेका बेला धेरै कम्पनीले यसअघि नै चीनमा सञ्चालित कारखाना बन्द गरेका थिए । चीनलाई विश्वकै कारखाना समेत मानिन्छ । तर यहाँ उत्पादन भएका सामग्री अमेरिकासँगको व्यापार विवादसँगै विश्व निर्यातमा असर परेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्