नाफा ह्वात्तै घटेपछि ३५ हजार रोजगारी कटौती गर्दै एचएसबीसी

हङकङ, साउन २०
एचएसबीसीले अन्तरिम नाफा ह्वात्तै घटेपछि हजारौँ रोजगारी कटौती गर्ने योजना तत्कालै अघि बढाउने भएको छ । कोरोना महामारीसँगै बैंकको खराब कर्जा अत्यधिक भएकाले बैंकले ३५ हजार रोजगारी कटौतीलाई द्रुतरुपमा अघि बढाउने भएको हो ।
बीबीसीका अनुसार एचएसबीसीका बोस नोइल क्विनले पुनर्संरचना योजना सुरु हुनुअघि नै उक्त संख्यामा रोजगारी कतौती गर्ने बताए । ‘यो वर्षको सुरुवातदेखि नै हाम्रो सञ्चालन वातावरण परिवर्तन भएको छ’, उनले भने ।
आफ्नो व्यवसायलाई बलियो बनाउन बैंकले थप निर्णयहरु लिनसक्नेतर्फ पनि सोचिरहेको क्विनले बताए । चालू वर्षको अर्धवार्षिक अवधिमा युरोपकै ठूलो बैंकको करअघिको नाफा ६५ प्रतिशतले घटेर ४ अर्ब ३० करोड अमेरिकी डलरमा झरेको छ । जुन विश्लेषकले अनुमान गरेभन्दा धेरै हो ।
त्यस्तै बैंकको खराब कर्जा यो वर्ष कोरोना महामारीका कारण ८ देखि १३ अर्ब डलरसम्म पुग्ने बताइएको छ । बैंकले कर्जा, क्रेडिट कार्ड र मोर्टगेजमा ७ लाख भुक्तानीमार्फत २७ अर्ब डलर ग्राहकलाई राहतस्वरुप खर्च गरेको जनाएको छ । न्यून ब्याजदरको वातावरण सिर्जनाले पनि बैंकलाई आर्थिक क्षति पुगेको छ । न्यून ब्याजदर हुँदा बैंकको लेन्डिङ पनि कम हुन्छ ।
जुनमा बैंकले ३५ हजार रोजगारी कटौती गर्ने योजना सार्वजनिक गरेको थियो । विश्वभर बैंकले २ लाख ३५ हजारलाई रोजगारी दिएको छ । फेब्रुअरीमा बैंकको पुनर्संरचना गर्ने योजना सार्वजनिक भएको थियो । पुनर्संरचना योजनाअनुसार बैंकले युरोप र अमेरिकामा थुप्रै शाखा बन्द गर्न सक्नेछ ।
अमेरिकामा मात्रै २ सय २४ यस्ता बैंकिङ सञ्चालन बन्द गर्नसक्छ । बैंकको मुख्यालय लन्डनमा भए पनि आधाजसो नाफा एसियाली वित्तीय हब हङकङबाटै कमाउँछ । चीन र पश्चिमा राष्ट्रबीचको विवादले बैंकलाई असर गर्न सक्छ । त्यसकारण पछिल्लो समय बैंकले दबाब महशुस गरिरहेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्