Techie IT
मंगलबार, माघ ६,२०७७

आफ्नै प्रविधिमा विद्युतीय स्वचालित कार उत्पादन गर्न हुन्डाई र एप्पलबीच साझेदारी


सोल ।
कार कम्पनी हुन्डाई र स्मार्टफोन निर्माता एप्पलबीच साझेदारीमा आफ्नै प्रविधिको स्वचालित विद्युतीय कार उत्पादन गर्ने गरी सम्झौताको तयारी भएको छ । दुई कम्पनीले आगामी मार्चसम्ममा यससम्बन्धी साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने र सन् २०२४ सम्ममा अमेरिकामा स्वचालित कार उत्पादन नै गर्ने रोयटर्सले जनाएको छ ।

कोरियाली आईटी न्युजमा प्रकाशित समाचारअनुसार हुन्डाई मोटर्सले गत शुक्रबार एक वक्तव्य जारी गर्दै एप्पलसँग यसबारे कुराकानी भएको बताएको थियो । कोरियाली सञ्चारमाध्यमका अनुसार सन् २०२७ मा दुई कम्पनीले स्वचालित विद्युतीय कार बजारमा ल्याउने योजना बनेको छ ।

यो समाचारसँगै हुन्डाईको सेयर समेत झण्डै २० प्रतिशतले बढेको रोयटर्सले जनाएको छ। यद्यपि हुन्डाई र एप्पल दुवैले समाचारबारे औपचारिक प्रतिक्रिया दिइसकेका छैनन् । आईटी न्युजले भने कार उत्पादन स्थल र उत्पादन क्षमताबारे समेत खुलाएर विस्तृतमै समाचार प्रकाशन गरेको छ ।

आईटी न्युजले पहिलो भर्सनको समाचारमा जर्जिया राज्यमा रहेको किया मोटर्सको फ्याक्ट्रीमा कार निर्माण गर्नलागेको बताएको थियो । त्यहाँ २०२४ सम्म १ लाख कार नै उत्पादन गर्ने योजना बनेको रिपोर्टमा जनाइएको छ । प्रस्तावित प्लान्टको पूर्णक्षमता भने वर्षको ४ लाख कार उत्पादन हुनेछ ।

किया मोटर्स हुन्डाईकै सम्बन्धनप्राप्त कम्पनी हो । उक्त रिपोर्टअनुसार हुन्डाई र एप्पलले अर्को वर्ष बेटा भर्सनको कार सार्वजनिक गर्ने योजना बनाएका छन् । रोयटर्सले गत महिना नै एप्पल स्वचालित कार उत्पादन प्रविधिमा अघि बढिरहेको जनाउँदै पेसेन्जर भेहिकल उत्पादनको लक्ष्य राखेको समाचार प्रकाशित गरेको थियो । आफ्नै नयाँ ब्याट्री प्रविधियुक्त कार २०२४ मा सार्वजनिक हुने जनाइएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्