Techie IT
शनिबार, असोज ३,२०७७

ब्राजिलबाट चीन लगिएका कुखुराका मासुमा कोरोना पुष्टि

विज्ञ भन्छन् : खानेकुराबाट सर्ने प्रमाण भेटिएको छैन


बेइजिड., साउन ३०
दक्षिणी चिनियाँ सहर शेन्जेनमा ब्राजिलबाट आयातित कुखुराका मासु/पखेटा (चिकेन विंग्स)मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार चिनियाँ अधिकारीहरुले यसबारे जानकारी दिएका हुन् । शेन्जेनको लंगांग जिल्लामा आयातित फ्रोजन फुडको जाँचपड्तालका क्रममा भाइरस भेटिएको बताइएको छ । तर विश्व स्वास्थ्य संगठन तथा अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अधिकारीहरुले भने खानेकुराबाट कोरोना सर्ने कुरा ज्यादै न्यून भएको बताएका छन् ।

चिनियाँ अधिकारीहरुले चिकेन विंग्समा कोरोना भेटिएपछि त्योसँगै बजारमा बिक्री भएका वस्तुहरुको खोजी सुरु गरेका छन् भने उक्त वस्तु स्टोर गरिएको स्थान पनि निस्संक्रामक औषधिबाट सफा गरिएको छ । त्यस्तै ती वस्तुसँग सम्बन्धित व्यक्तिहरुको तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरेर गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अन्य वस्तुहरु सबै सिल गरिएका छन् ।

ब्राजिलमा अहिलेसम्म ३१ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जुन अमेरिकापछि दोस्रो ठूलो संक्रमण हो । यसअघि इक्वेडरबाट ल्याइएका सामग्रीमा पनि कोरोना पुष्टि भएपछि चिकेन विंग्सको नमूना संकलन गरिएको थियो । त्यसअघि पनि समुद्री खानेकुरामा कोरोना पाइएको थियो ।

यसैबीच, डब्ल्यूएचओले भने खानेकुराबाट कोरोना सर्ने सम्भावना ज्यादै न्यून भएको बताएको छ । सीडीसीले पनि डब्ल्यूएचओकै मतमा राय दिएको छ । यी दुवै संस्थाका अनुसार कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा कुराकानी गर्दा मात्रै सर्छ । डब्ल्यूएचओले हालसम्म प्याकेज गरिएका खानेकुराबाट कोरोना सरेको पुष्टि नभएको बताएको छ ।

भाइरस खानेकुरामा वृद्धि हुन नसक्ने जनाउँदै उसले जनावर वा मानिसमा मात्रै वृद्धि हुनसक्ने बताएको छ । हङकङको चाइनिज युनिभर्सिटीका श्वासप्रश्वास औषधि विज्ञ डेभिड हुई शु चेंगले प्याकेजिङको क्रममा भाइरस संक्रमण भएको हुनसक्ने बताएको सीएनएनले जनाएको छ ।

उनले खानेकुरामा भेटिएको कोरोना भाइरस मृत अवस्थामा भएको हुनसक्ने बताए । यदि खानेकुरामा भेटिएका भाइरस प्रयोगशालामा वृद्धि हुने अवस्थामा भने ती भाइरसबाट संक्रमण फैलिन सक्ने उनको भनाइ छ । त्यस्तै कोरोनाभाइरस ज्यादै चिसोमा पनि बाँच्न सक्ने बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्