Techie IT
सोमबार, कात्तिक १०,२०७७

दक्षिण एसियाका बाढीपीडितलाई ईयूको साढे १६ लाख युरो, नेपालले पनि पाउने


ब्रसेल्स, साउन २८
यूरोपियन युनियन (ईयू)ले दक्षिण एसियामा बाढी पीडितलाई सहयोग पु-याउनका लागि १६ लाख ५० हजार यूरो प्रदान गर्ने बताएको छ । मानवीय सहयोगका लागि प्रयोग हुने उक्त रकम खासगरी नेपाल, बंगलादेश र भारतमा प्रयोग हुने ईयूले जनाएको छ ।

ईयूले मेमा भारत र बंगलादेशलाई तहसनहस पार्ने चक्रवात एम्फान लगायतका प्रकोपबाट प्रभावित परिवारहरूलाई सहयोग पु-याउन यस वर्षको सुरुमा घोषणा गरिएको १८ लाख युरोसहित ईयूले दक्षिण एसियाली राष्ट्रका प्रकोप पीडितलाई कुल ३४ लाख ५० हजार युरो उपलब्ध गराएको छ ।

विज्ञप्तिमा दक्षिण एसियामा यस वर्ष बाढीले करिब एक करोड ७५ लाख व्यक्तिलाई घरविहीन बनाएको छ भने उनीहरूले ठूलो मात्रामा चौपाया तथा खेतीजन्य भूमिको विनाश गरेको छ । बाढी तथा आँधीका कारण सडक, अस्पताल र विद्यालयलगायत महत्वपूर्ण पूर्वाधारहरूमा पनि व्यापक क्षति पुगेको छ ।

‘दक्षिण एसियामा मनसुनको वर्षा यस वर्ष विशेष गरी विनाशकारी भएको छ र यो अत्यावश्यक योगदानले हाम्रा साझेदार मुलुकमा आश्रय, सम्पत्ति र जीविकाको स्रोत गुमाएकाहरूलाई महत्वपूर्ण मानवीय सहयोग पु-याउने विश्वास ईयूले लिएको छ’, एसिया तथा प्रशान्त क्षेत्रका लागि ईयू पर्यवेक्षक ताहिनी थम्मनगोदाले भने ।

‘सबैभन्दा बढी प्रभावित देशहरूमा ध्यान केन्द्रित गर्दै, हामी मानिसहरूलाई यस कठिन समयबाट बाँच्नका लागि साधनहरू प्रदान गर्दै छौं ताकि उनीहरू सकेसम्म चाँडो आत्मनिर्भर बन्न सकून्’, ताहिनी थम्मनगोदाले भने । कुल रकममध्ये १० लाख यूरो बंगलादेशमा अत्यावश्यक मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न समर्पित हुनेछ, जहाँ २० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोग, पानी, सरसफाइ, र आपत्कालीन आश्रय चाहिएको छ । भारतमा खाद्यान्न तथा अन्य मानवीय सहायताका लागि अर्को पाँच लाख प्रयोग गरिनेछ ।

प्राकृतिक प्रकोपबाट प्रभावित नेपाललाई खानेपानी तथा सरसफाइ, आश्रयस्थल र अत्यावश्यक आधारभूत वस्तुहरूको आवश्यकताको समाधान गर्न प्रयोग गर्न १५ लाख युरो प्रदान गरिने पनि उनले बताए । युरोपले प्राकृतिक प्रकोपबाट एक लाखभन्दा बढी प्रभावित हुने मुलुकमा मानवीय सहयोगका उक्त शीर्षकअन्तर्गत सहयोग गर्ने गर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्