Techie IT
बुधबार, असोज ७,२०७७

टिकटक किन्न ट्विटर पनि उत्सुक


अमेरिका, साउन २७
चिनियाँ स्वामित्वकर्ता बाइटीडान्सले टिकटक बेच्ने भएपछि विभिन्न कम्पनीहरुले चासो देखाइरहेका बेला ट्विटर पनि थपिएको छ । बीबीसीका अनुसार भिडियो सेयरिङ एप किन्न ट्विटरले पनि बाइटीडान्ससँग उत्सुक रहेको जानकारी गराएको हो । बाइटीडान्सले कम्पनीको अमेरिकी ब्रान्च बेच्ने बताएपछि माइक्रोसफ्टले यसअघि नै इच्छा जाहेर गरिसकेको छ । बितेका केही हप्ता टिकटकबारे गम्भीर बहस भइरहेका छन् ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुलाई टिकटकसँग व्यवसाय नगर्न ४५ दिनको समय दिएका छन् । सुरक्षा खतराको विषयसँग जोडिएपछि उनले टिकटक कुनै अमेरिकी कम्पनीले उक्त समयमा किने छुट दिने नभए बन्द नै गरिदिने गरी कार्यकारी आदेश नै जारी गरिसकेका छन् । माइक्रोसफ्ट अहिले टिकटक किन्न कस्सिएको छ । तर ट्विटर पनि एकाएक देखापरेको छ । तर उसले टिकटक किन्न सक्ने नसक्ने निश्चित छैन ।

त्यस्तै टिकटकको मूल्य कति भन्ने पनि निश्चित हुन बाँकी छ । यसको दशौँ अर्ब डलर मूल्य हुने अनुमान छ । ट्विटरको बजार पुँजीकरण २९ अर्ब डलरको छ भने माइक्रोसफ्टको १६ खर्ब डलरभन्दा बढी छ । विश्लेषकहरु भने माइक्रोसफ्टलाई भन्दा ट्विटरलाई टिकटक किनेमा अनुसन्धानको दलदलमा फस्नुपर्ने हुनसक्ने बताउँछन् ।

ट्रम्पले गत शुक्रबार टिकटकले ग्राहकको सूचना चिनियाँ सरकारलाई उपलब्ध गराउनसक्ने र त्यसले राष्ट्रिय सुरक्षा खतरा पर्ने निहुँ झिकेर व्यवसाय नगर्न अमेरिकी कम्पनीलाई निर्देशन दिएका थिए । उनले जारी गरेको कार्यकारी आदेशपछि टिकटकले कानुनी प्रतिवाद गर्ने चेतावनी दिएको थियो । अमेरिकाले टिकटकसँगै चिनियाँ म्यासेजिङ एप विच्याटमाथि पनि प्रतिबन्ध लगाएको छ ।

दुई देशबीच तनाव बढ्दै जाँदा पछिल्लो स्थिति देखापरेको हो । यसका बाबजुद ट्रम्प भने माइक्रोसफ्टले टिकटक किने छुट दिन सकिने बताइरहेका छन् । तर कम्पनी बिक्री हुँदा अमेरिकी ट्रेजरी डिपार्टमेन्टलाई पनि केही हिस्सा चाहिने उनले बताएका छन् । उनले यसका लागि सेप्टेम्बर १५ सम्मको समयसीमा दिएका छन् । यो अवधिमा पूर्णरुपमा टिकटक अमेरिकी कम्पनीको स्वामित्वमा आइसक्नुपर्नेछ ।

माइक्रोसफ्टले राष्ट्रपतिको कार्यकारी आदेशको सम्मान गर्दै खरिद कार्य द्रुत रुपमा सकाउने बताइसकेको छ । माइक्रोसफ्टले अमेरिका, अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डको स्वामित्व खरिद गर्ने इच्छा देखाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्