Techie IT
४ जेठ २०७९, बुधबार

१६ अर्ब डलरमा भेरियनलाई प्राप्ति गर्दै साइमेन्स हेल्दिनियर्स


बर्लिन, साउन १९
जर्मन हेल्थ ग्रुप साइमेन्स हेल्दिनियर्सले क्यान्सर उपचार सामग्री कम्पनी भेरियनलाई अर्बौँ डलरमा प्राप्ति गर्ने भएको छ । रोयटर्सका अनुसार १६ अर्ब ४० करोड अमेरिकी डलरमा भेरियन मेडिकल सिस्टम्स इन्कलाई साइमेन्सले प्राप्ति गर्नलागेको हो । उक्त मूल्यांकन अमेरिकी कम्पनी भेरियनले क्यान्सर उपचारका लागि उत्पादन गर्ने डिभाइस, सफ्टवेयरसहितको हो । प्राप्ति सहमतिअनुसार साइमेन्सले भेरियनको सबै सेयर स्वामित्व प्रतिकित्ता १७७ अमेरिकी डलरमा लिनेछ । जुनमध्ये २४ प्रतिशत गत शुक्रबारको बजार बन्द हुनुअघिको अमेरिकी कम्पनीको सेयर मूल्यमा आधारित प्रिमियम हुनेछ ।

औद्योगिक समूह साइमेन्सले सम्झौताका लागि वित्तीय सहयोग गर्नेछ । उसले सन् २०२५ सम्ममा क्यान्सर उपचारमा विश्वकै अग्रणी बन्ने लक्ष्य लिएको छ । साइमेन्सका सीईओ बर्नाड मोन्ट्यागले क्यान्सरविरुद्धको लडाइँ र स्वास्थ्य क्षेत्रमै गरी फड्को मार्ने बताए । भेरियनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डो विल्सनले विश्वव्यापी ठूलो संख्याका बिरामीलाई सेवा गर्ने गरी कम्पनी रुपान्तरण हुने बताए । दुई संस्थाबीचको सम्झौताबारे सर्वप्रथम ब्लुमबर्गले समाचार दिएको थियो । यो सम्झौतालाई भेरियनका सेयरधनी र नियामकले स्वीकृति दिइसकेको बताइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्