Techie IT
शुक्रबार, माघ २,२०७७

अमेरिकाको ४६औँ राष्ट्रपतिमा बाइडेन


वासिड.टन् डीसी ।
अमेरिकाको ४६औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जोय बाइडेन र उपराष्ट्रपतिमा अफ्रिकी तथा दक्षिण एसियाली मूलकी कमला ह्यारिस निर्वाचित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडेनले २ सय ७० भन्दा बढी इलेक्टोरल मत पाउने निश्चितप्रायः भएसँगै अमेरिकी मिडियाहरुले बाइडेनको विजय भएको जनाएका छन् ।
तर वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै हार स्वीकार्न तयार देखिएका छैनन् । साथै उनी र उनको क्याम्पले आज सोमबारदेखि कानुनी लडाइँ लड्ने घोषणा गरेका छन् । यो निर्वाचनमा दुवै उम्मेदवारबीच मुख्य राज्यमा तीव्र प्रतिस्पर्धा भएको थियो ।

खासगरी मेल इन ब्यालोट्स अर्थात् हुलाकबाट भएको मतदानको मतपत्र निर्वाचनको दिनपछि पनि स्वीकार गरिएकोले त्यसलाई ट्रम्प पक्षले अवैधानिक भएको आरोप लगाइरहेको छ । तर अग्रिम मतदान हुने प्रचलनअनुसार मतदान भएकोले त्यसलाई अवैधानिक मान्न नहुने डेमोक्रेटिक पार्टीले बताएको छ । ट्रम्पले मुख्य राज्यहरुमा अग्रता लिए पनि हुलाकमार्फत भएको मतदानको मतपत्र गणनासँगै पछि परेका थिए । सोही आधारमा बाइडेन विजयी भएका हुन् ।

बाइडेनलाई बधाईको ओइरो
यसैबीच, अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा विश्वभरका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरुले अमेरिकी उपराष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकोमा थप खुसी व्यक्त गरेका छन् ।

उनीहरुको जितसँगै अमेरिकामा लोकतन्त्र, समानता, स्वतन्त्रतालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि विश्व नेताहरुले गरेका छन् । फ्रान्सका राष्ट्रपति इंम्यानुएल म्याक्रोँले सामाजिक सञ्जाल ट्विटरमा नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका छन् । उनले अहिलेका विश्वका चुनौतीहरुलाई सँगसँगै सामना गर्न आफूहरुले चाहेको उनले शुभकामना सन्देशमा लेखेका छन् ।

जर्मन चान्सलर एंगेला मर्केल, नाटोका महासचिव जेन्स स्टोल्टेन्बर्ग र इजिप्टका राष्ट्रपति अब्डेल फताह इल सीसीले पनि अमेरिकी नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई ज्ञापन गरेका छन् । त्यसैगरी युक्रेनका राष्ट्रपतिले पनि बाइडेन र उनको परिवारलाई बधाई प्रकट गर्दै आपसी सुमधुर सम्बन्धका लागि कामना गरेका छन् ।

जर्मनका विदेशमन्त्री हेइको मासले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘हामी उहाँसँग नयाँ तरिकाले सहकार्य गर्न चाहन्छौँ, नयाँ सम्बन्ध र सझौता गर्न चाहन्छौँ ।’ उनीहरु निर्वाचित भएकोप्रति चिनियाँ प्रतिक्रिया भने अहिलेसम्म आएको छैन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार, सुरक्षा, प्रविधि लगायतका विषयमा विवाद भएको चीनले तत्काल प्रतिक्रिया नदिनुलाई चासोका साथ हेरिएको छ ।

बाइडेनको जितप्रति इराकीहरुको प्रतिक्रिया भने मिश्रित रहेको छ । अमेरिकाको उपराष्ट्रपति भएका बेला सन् २००३ मा इराकमा अमेरिकी आक्रमण गराउन उनको ठूलो भूमिका रहेको धेरै इराकीहरुले ठानेका छन् । तर पनि इराकी राष्ट्रपति बार्हाम सलिहले सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई बधाई दिँदै आफ्नो साथी तथा विश्वासिलो सहयात्रीको रुपमा स्मरण गरेका छन् ।

अमेरिकासँग राम्रो सम्वन्ध रहेको ठानिएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले पनि बाइडेनलाई बधाई दिँदै बलियो सहकार्यको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् । दुई देशको गठबन्धन र साझेदारिता अझै बलियो हुने विश्वास पनि उनले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन् । अमेरिकासँग नराम्रो सम्बन्ध रहेको मानिने भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पनि नयाँ राष्ट्रपति बाइडेनसँग सम्वन्ध सुधारको अपेक्षा व्यक्त गरेका छन् । उनले अमेरिकासँग वार्ताको माध्यमबाट सम्वन्ध सुधार गर्न भेनेजुएला सधैँ तत्पर रहेको बताए ।

राष्ट्रपति ट्रम्पका ज्वाई जारेद कुश्नरसँग नजिकको सम्वन्ध रहेका संयुक्त अरब इमरेट् (युएइ)का राजकुमार मोहम्मद बिन जायद अल नाह्यानले पनि ट्रम्पलाई पराजित गरेका बाइडेनलाई बधाई दिएका छन् । ट्रम्पसँग धेरै राम्रो सम्बन्ध बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अमेरिकी नयाँ राष्ट्रपति बाइडेनको सफलताको कामना गरेका छन् । आफू र बाइडेनसँगै रहेको फोटो समेत राखेर सामाजिक सञ्जालमार्फत उनले बधाई दिएका हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्