Techie IT
सोमबार, वैशाख ६,२०७८

श्रमिकमाथि अत्याचार गरेको भन्दै मलेसियाली पाम तेल उत्पादकमाथि अमेरिकाले लगायो प्रतिबन्ध


वासिड.टन् ।
अमेरिकी भन्सार तथा सीमा संरक्षण (सीबीपी)ले मलेसियाली पाम तेल उत्पादकमाथि श्रमिकमाथि अत्याचार गरेको भन्दै प्रतिबन्ध लगाएको छ । सीबीपीले शारीरिक तथा यौनिक हिंसालगायतलाई कारण देखाउँदै एफजीभी होल्डिङ्समाथि प्रतिबन्ध लगाएको हो ।

उक्त कम्पनी र यसका सहायक कम्पनीबाट भएको शिपमेन्ट पनि अमेरिकी प्रवेश विन्दु बन्दरगाहमै राखिने जनाइएको हो । यसैबीच, एफजीभीले वक्तव्य जारी गर्दै श्रमिकको अवस्था सुधार्न ठोस कदम चालेको दाबी गरेको छ । सीबीपीले भने एक वर्ष लामो अनुसन्धानपछि कामदारमाथि अनावश्यक कडाइ गरेको, एक्ल्याएको, शारीरिक र यौनिक हिंसामा पारिएको, डर, धम्की र त्रासको वातावरण सिर्जना गरिएको, तलब रोक्का गरिएको, डेब्ट बन्डेज, श्रमशोषण र खराब बसोबास अवस्था र जबर्जस्ती ओभरटाइम काम लगाएको पाइएको आरोप लगाएको छ । त्यस्तै बाल कामदार पनि कम्पनीले लगाएको आरोप लगाइएको छ ।

एफजीभी मलेसियाली सार्वजनिक कम्पनी हो । यसले मलेसियाको वार्षिक कच्चा पाम तेल उत्पादनमा १५ प्रतिशत हिस्सा ओगटेको छ । पाम तेल विभिन्न खाद्य परिकार, कस्मेटिक र फर्मास्युटिकल्स तथा बायोफ्युल्समा प्रयोग हुन्छ ।

अमेरिकाले सन् २०१६ देखि श्रमशोषणबाट हुने उत्पादनमाथि प्रतिबन्ध लगाउँदै आएको छ । यसअघि अमेरिकाले चीनको सिन्जियाङ प्रान्तबाट आउने उत्पादनमा पनि प्रतिबन्ध घोषणा गरेको थियो । चिनियाँ उत्पादन पनि श्रमशोषणबाट भएको भन्दै उक्त प्रतिबन्ध लगाइएको थियो । तर एफजीभीले भने यसबाट दुःखी भएको जनाएको छ । उसले कामदारको अवस्था सुधारमा ठोस कदम चालिरहेको र चाल्ने जनाएको छ ।

मानवअधिकारलाई पनि आफूले ध्यान दिने कम्पनीले प्रतिबद्धता जनाएको छ । उक्त कम्पनीमा धेरै अन्तर्राष्ट्रिय श्रमिक रहेका छन् । जसमध्ये ११ हजार इन्डोनेसियाली र ५ हजार भारतीय कामदार छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्