Techie IT
२३ साउन २०७९, सोमबार

चीन-अमेरिका सम्बन्ध: चीनले तत्काल ताइवान आक्रमण गर्ने अवस्था नरहेको अमेरिकी सेना प्रमुखको भनाइ


काठमाडौँ । चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था नदेखिएको तर अमेरिकाले त्यहाँको अवस्थालाई नजिकबाट नियालिरहेको एक अमेरिकी जेनरलले बताएका छन्।

चीनले कुनै बेला आक्रमण गर्न क्षमता विस्तार गरिरहेको तर यसबारेको निर्णय राजनीतिक हुने जेनरल मार्क मिलीले बीबीसीलाई बताएका छन्।

चीनले ताइवान आफूसँग छुट्टिएको एक प्रान्त भएको जसलाई आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।

चीनले अमेरिकालाई ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको र त्यस्तो प्रयासलाई निरर्थक बनाउने बताउने गरेको छ।

हालैका दिनमा चीन र ताइवानको सबैभन्दा शक्तिशाली मित्रराष्ट्र अमेरिकाबीच तनाव बढेको छ।

चीनले ताइवानको हवाई रक्षा क्षेत्रमा लडाकु विमानहरू उडाउने क्रम बढाएको छ भने अमेरिकाले ताइवानको समुद्र क्षेत्रमा पानीजहाजहरू पठाएको छ।

गत मेमा अमेरिकी राष्ट्रपति जो बाइडनले ताइवाननजिकै लडाकु विमान उडाएर चीनले खतरासँग खेलिरहेको बताएका थिए।

उनले आक्रमण गरिए ताइवानको प्रतिरक्षा गर्ने बताएका थिए।

जबाफमा बेइजिङले अमेरिकालाई ताइवानको विषयमा आफ्नो प्रतिबद्धता भुलेको र चीनको मामिलामा दखल दिएको बताउँदै ताइवानलाई स्वतन्त्रता घोषणा गर्नबाट रोक्न सङ्घर्ष गर्न नडराउने बताएको थियो।

चीन

तस्बिर स्रोत,REUTERS

‘हामी नजिकबाट नियाल्छौँ’

अमेरिकी फौजका संयुक्त प्रमुख जेनरल मिलीलाई के चीनले ताइवानलाई आक्रमण गर्छ भनेर सोधिएको थियो।

जबाफमा उनले भने: “गर्न सक्छ, गर्छ र गर्नेछ भन्ने प्रमुख शब्द हुन्।”

“क्षमता विस्तारका सम्बन्धमा मलाई लाग्छ चीनले स्पष्ट रूपमा क्षमता विस्तार गरिरहेको छ। राष्ट्रपति सी जिन्पिङले सार्वजनिक मञ्चमा, भाषणमा भनेका छन् कि उनले चिनियाँ सेनालाई कुनै बेला ताइवानलाई आक्रमण गर्न चुनौती दिएका छन्।”

“र उनीहरूले गर्छन् कि गर्दैनन् भन्ने राजनीतिक निर्णय हो, यो नीतिगत निर्णय हो र त्यसको आधार त्यति बेला चीनलाई यसको नाफाघाटाको हिसाब के हुन्छ भन्ने कुरामा भर पर्छ।”

“अहिले यसबारे कुनै सङ्केत वा चेतावनी छैन। तर फेरि हामी यो कुरालाई धेरै नजिकबाट नियालिरहेका छौँ।”

अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध छैन तर टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने भनिएको ताइवान सम्बन्ध ऐनका आधारमा हतियार बिक्री गर्छ।

साथै अमेरिकाको चीनसँग दौत्य सम्बन्ध छ र कूटनीतिक रूपमा चीनको एक सरकार रहेको कुरालाई मान्यता दिन्छ।

‘चीनका लागि आक्रमण महँगो’

सिङ्गापुरस्थित बीबीसी सम्वाददाता टेसा वङका अनुसार धेरै विश्लेषकले चीनले अहिले ताइवानलाई आक्रमण नगर्ने बताउँछन्।

उनी भन्छिन्, “ताइवानले हालैका दिनमा हवाई र समुद्रमा हतियार थुपारेकोले चीनले आक्रमण गरे त्यो सफल हुँदैन कि भन्ने आशङ्का पनि छ।”

तर धेरैले बेइजिङको आक्रमण चीनका लागि मात्रै नभई विश्वकै लागि महँगो र घातक पर्ने विश्लेषण गरेको संवाददाता वङ बताउँछिन्।

“ताइवानले आधिकारिक रूपमा स्वतन्त्रता घोषणा गरेमा चीनलाई अप्ठेरो पर्न सक्छ तर धेरै ताइवानी नागरिकहरू अहिलेकै अवस्था हुँदा ठिक हुने मान्छन्।”

चीन र ताइवान

चीन-ताइवान सम्बन्ध

  • सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
  • ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कूल तीन लाख सैनिक छन्।
  • ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ। (बीबीसी)

क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्