अफगानिस्तान भूकम्पः सयौँ मानिसको मृत्यु, पाकिस्तान र भारतसम्म कम्पन

काठमाडौँ । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण करिब १,००० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको तालिबान सरकारका अधिकारीहरूले बताएका छन्।
पाक्तिका प्रान्तबाट प्राप्त तस्बिरहरूमा पहिरो गएको र कच्ची घरहरू भत्किएको देखिन्छ।
उद्धारकर्ताहरू त्यहाँ घाइतेको उपचारमा दौडधुप गरिरहेका छन्। यसअघि सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूबाट घाइते ओसारिएको देखिएको थियो।
दुर्गम स्थानहरूमा हेलिकप्टर प्रयोग गरेर घाइतेहरूलाई अस्पताल लगिएको छ।
तालिबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।
यसअघि विपद् व्यवस्थापन हेर्ने उनका सहायक मन्त्री शरफुद्दिन मुस्लिमले एउटा प्रेस सम्मेलनमा कम्तीमा ९२० जनाको मृत्यु भएको र थप ६०० जना घाइते भएको बताएका थिए।
भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ।
मध्यरातपछि भूकम्प आएको बेला धेरै मानिसहरू सुतिरहेका थिए।
सहयोगको याचना
अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर भित्र गएको थियो।

तस्बिर स्रोत,AFGHAN GOVERNMENT NEWS AGENCY
“हिजो पाक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गयो। भूकम्पका कारण हाम्रा सयौँ नागरिकको ज्यान जानुका साथै दर्जनौँ घरहरू ध्वस्त भएका छन्,” सरकारका प्रवक्ता बिलाल करिमीले ट्विटरमा लेखेका छन्।
“उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई आग्रह गर्छौँ।”

तस्बिर स्रोत,AFGHANISTAN INFORMATION SERVICE
भारतसम्म कम्पन
केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ।
अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।
प्रत्यक्षदर्शीहरूले जनाएअनुसार अफगान राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूकम्पको धक्का पुगेको थियो।
यद्यपि ती स्थानमा कुनै क्षति पुगेको वा कोही हताहत भएको विवरण नआएको बीबीसी उर्दूले जनाएको छ।

अफगानिस्तान भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित छ।
त्यहाँको भूगर्भमा विभिन्न दरारहरू छन्।
ग्रामीण भेगमा बलियो घर नबनाइने भएकाले विशेष गरेर त्यहाँ भूकम्पले ठूलो मानवीय क्षति पुर्याउने गरेको छ।

तस्बिर स्रोत,AFGHAN GOVERNMENT NEWS AGENCY

तस्बिर स्रोत,@ALHAM24992157
विगत एक दशकमा अफगानिस्तानमा भूकम्पमा परेर ७,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रतिवेदनहरूमा उल्लेख छ।
प्रत्येक वर्ष अफगानिस्तानमा भूकम्पका कारण सरदर ५६० जनाको मृत्यु हुने गरेको देखिन्छ।

यो पनि हेर्नुहोस्
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्