Techie IT
१७ असार २०७९, शुक्रबार

चीनको रुसी तेल आयात हालसम्मकै उच्च


बेइजिङ । एक वर्षअघिको तुलनामा मे महिनामा चीनले रुसी कच्चा तेल कीर्तिमानी दरमा आयात गरेको छ । चीनको रुसी तेल आयात ५५ प्रतिशतले बढेको हो । योसँगै साउद अरेबियाको उच्च आपूर्तिकर्ताको स्थान रुसले खोसेको छ । युक्रेनमाथिको आक्रमणसँगै पश्चिमा देशले रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले तेलको निर्यात एसियामै गर्नथालेको हो । पूर्वी साइबेरिया प्रशान्त सागर पाइपलाइन र शिपमेन्ट, रुसको युरोपेली र सुदूरपूर्वी बन्दरगाहबाट रुसी तेलको आयात चीनले बढाएको हो ।

चिनियाँ भन्सार प्रशासनको तथ्यांकअनुसार चीनले ८४ लाख २० हजार टन तेल आयात गरेको रोयटर्सले जनाएको छ । त्यो भनेको झण्डै १९ लाख ८० हजार ब्यारेल प्रतिदिनबराबर भएको बताइएको छ । चीन धेरै कच्चा तेल आयात गर्ने देश हो । पश्चिमा प्रतिबन्धका बाबजुद रुसले आपूर्ति गन्तव्य भेट्टाउन सफल भएको छ ।

पश्चिमा प्रतिबन्ध लागेका रुसमात्र होइन चिनियाँ प्रशोधन कम्पनीले इरान र भेनेजुएलाबाट पनि सस्तो कच्चा तेल खरिद गर्दै आएका छन् । यता साउदी अरेबिया दोस्रो आपूर्तिकर्ता बनिरहेको छ । मे महिनामा साउदी अरेबियाको तेल निर्यात नौ प्रतिशतले वृद्धि भएको छ । यो भनेको वार्षिक ७८ लाख २० हजार टन वा १८ लाख ४० हजार ब्यारेल प्रतिदिन बराबर हो । यो अप्रिलको २१ लाख ७० हजार ब्यारेल प्रतिदिनभन्दा कम हो । सोमबार सार्वजनिक चिनियाँ भन्सार तथ्यांकअनुसार चीनले दुई लाख ६० हजार इरानीयन कच्चा तेल गत महिना आयात गरेको छ । गत डिसेम्बरयता इरानबाट यो तेस्रो शिपमेन्ट भएको बताइएको छ ।

इरानमाथि अमेरिकाको प्रतिबन्धका बाबजुद चीनले इरानबाट तेल खरिद गर्दै आएको छ । इरानबाट चीनले कुलमध्ये सात प्रतिशत तेल आयात गर्दै आएको छ । मे महिनामा चीनको कुल कच्चा तेल आयात १२ प्रतिशतले बढेको देखिएको छ । २०२१ को एक करोड तीस लाख ब्यारेल प्रतिदिनको तुलनामा २०२२ मा एक करोड ८० लाख बीपीडी पुगेको छ । चीनले मलेसिया र ब्राजिलबाट पनि तेल आयात गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्