Techie IT
१४ असार २०७९, मंगलबार

‘अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ र २०१७ मा ७५० डलरमात्रै आयकर तिरे’


अमेरिका ।
चर्चित अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ र २०१७ मा केवल साढे सात सय अमेरिकी डलर मात्रै कर तिरेको भन्दै सनसनीपूर्ण रिपोर्ट छापेको छ ।

उक्त पत्रिकाका अनुसार व्यवसाय पृष्ठभूमिबाट राजनीतिमा आएका ट्रम्पले दुई वर्ष केवल साढे सात सय अमेरिकी डलरमात्रै आयकर तिरेको रिपोर्ट छापेको हो । उसले राष्ट्रपति ट्रम्पको दुई दशकको कर विवरण आफूले पाएको दाबी गर्दै समाचार छापेको छ । त्यसअघिका १५ वर्षमध्ये १० वर्षमा कति पनि आयकर नतिरेको समाचारमा उल्लेख गरिएको छ ।

समाचारअनुसार ट्रम्प र उनको कम्पनी घाटामा गएकाले कर तिर्न नसकेको पनि सनसनीपूर्ण खुलासा उक्त रिपोर्टमा गरिएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले धेरै रकम करअन्तर्गत तिरेको भन्दै समाचारलाई झूटको पुलिन्दा भएको जनाएका छन् । उनले भनेका छन्, ‘वास्तवमा मैले कर तिरेको छु । र त्यो तपाईंहरुले चाँडोभन्दा चाँडो थाहा पाउनुहुनेछ । यो अहिले अडिटकै क्रममा छ । धेरै लामो समयदेखि यो अडिट भइरहेको छ ।’

उनले आन्तरिक राजस्व सेवाले आफूमाथि राम्रो व्यवहार नगर्ने गरेको बताएका छन् । उनले भने, ‘मलाई साह्रै नराम्रो गरिरहेका छन् ।’ यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले कर विवरण लुकाएको आरोप लगाउँदै उनीविरुद्ध अदालतमा मुद्दा समेत परिसकेको छ । सन् १९७० यता आफ्नो कर विवरण सार्वजनिक नगर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । यद्यपि अमेरिकी कानुनले सार्वजनिक गर्नैपर्ने भन्दैन । यो रिपोर्ट डेमोक्रेट र रिपब्लिकन उम्मेदवारको पहिलो राष्ट्रपतीय सार्वजनिक बहसको केही दिनअघि मात्र सार्वजनिक भएको हो ।

यो रिपोर्ट सार्वजनिक गर्ने न्युयोर्क टाइम्ससहित द वासिङटन पोस्ट, सीएनएनलगायतका चर्चित सञ्चारगृहहरु ट्रम्प राष्ट्रपति बनेयता निरन्तर उनको खेदो खनिरहेका छन् । त्यस्तै फक्स न्युज, न्युयोर्क पोस्ट, वासिङटन टाइम्सलगायतले भने ट्रम्पको सकारात्मक समाचारहरु प्रसारण प्रकाशन गर्ने गरेका छन् । त्यस्तै पोलिटिको, यूएसएटुडेलगायतका केही सञ्चारमाध्यमले भने तटस्थ भूमिका निर्वाह गरिरहेका छन् । आफूविरुद्ध एकोहोरो खनिने ती सञ्चारगृहलाई ट्रम्पले फेक न्युज भन्दै आरोप लगाउने गरेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्