नासा स्पेसएक्स: अन्तरिक्षकेन्द्रबाट दुई अमेरिकी यात्री पृथ्वी फर्किँदै, समुद्रमा अवतरण गर्ने तयारी

अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कन पृथ्वी फर्किनका लागि आफ्नो ड्र्यागन इन्डिभर क्याप्स्यूललाई अन्तरिक्षकेन्द्रबाट अलग गराएका छन्। उनीहरू फ्लोरिडाको तटनजिकै आइतवार अवतरण गर्ने अपेक्षा गरिएको छ। उक्त समय नेपाली समयानुसार राति ००:३० तिर हुनेछ। उनीहरूको सफल अवतरणपछि अमेरिकासँग मानिसलाई अन्तरिक्ष पठाउने र फर्काउने क्षमता फेरि प्राप्त भएको पुष्टि हुनेछ। अमेरिकाको यो क्षमता सन् २०११ मा शटलहरू अन्तरिक्षमा पठाउन बन्द गरेपछि गुमेको थियो।
अमेरिकी अन्तरिक्ष निकाय नासा र उसको व्यापारिक साझेदार स्पेसएक्सले अवतरणका लागि समुद्री आँधी हरिकेन इसायासभन्दा टाढाको क्षेत्र रोजेका छन्।
त्यही कारण उद्धारका लागि पर्खिने एउटा पानीजहाज पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटबाट उता गल्फ अफ मेक्सिकोतर्फ पठाइएको छ।

तस्बिर स्रोत,NASA
उक्त अभियानका नियन्त्रकहरूले हावा र छालको अवस्था निगरानी गरिरहेका छन्। उनीहरूले पुन: प्रवेशका लागि अन्तिमपटक “जान” भन्नुअघि पछिल्लो पूर्वानुमानबारे अध्ययन गर्नेछन्।
त्यसपछि हर्ली र बेन्कनको ड्र्यागन क्याप्सूल अन्तरिक्ष कक्षबाट तल खस्न थाल्नेछ।
सुरुमा प्रतिसेकेन्ड कैयौँ किलोमिटरलप गतिमा झर्नेछ। तल झर्दै गर्दा त्यसको तलको भाग २,००० सेन्टिग्रेडसम्म तात्छ।
अमेरिकाले ४५ वर्षअघि आफ्नो मानवससहितको यानलाई समुद्रमा अवतरण गराएको थियो।
पृथ्वीमाथि सोभियत सोयूज यानसँग भेट भएपछि त्यति बेला अपोलो यान प्रशान्त महासागरमा फर्किएको थियो।

तस्बिर स्रोत,NASA
डग हर्लीले त्यति बेलाको समाचारहरू आफूले पढेको र अन्तरिक्षयात्रीहरूले पानीमा अवतरणका लागि कुरिरहेका बेला बान्ता होला जस्तो हुने अनुभव गरेको थाहा पाएको बताएका छन्।
“आवश्यक पर्यो भने झोला छ र त्यो बोक्न सजिलो छ,” उनले शुक्रवार संवाददाताहरूलाई भने।
“उकालो उक्लिँदा परिवर्तन भए जस्तै ओरालो झर्दा पनि त्यस्तै परिवर्तन हुनसक्छ भन्ने अन्तरिक्षमा उड्नेहरूलाई थाहा हुन्छ।”
गत मे महिनाको अन्त्यतिर यी दुई अन्तरिक्षयात्रीलाई अन्तरिक्ष केन्द्र पठाइएको थियो।
अब नासाले अन्तरिक्षकेन्द्रसम्म पुग्ने र फर्किने अमेरिकी अन्तरिक्षयान किन्ने वा सञ्चालन नगर्ने निर्णय गरेको छ।
त्यसको सट्टा उसले व्यावसायिक क्षेत्रबाट भाडामा किनेर प्रयोग गर्ने विधि अपनाएको छ।
पहिलोपटक क्यालिफोर्नियाको स्पेसएक्स कम्पनीले अहिलेको यान उपलब्ध गराएको हो।
यस्तो गर्दा खर्च निकै कम हुने नासाका प्रशासक जिम ब्रिडेन्स्टाइनले बताए।
“हामीले सामान र सुरक्षाका हिसाबले उच्च स्तरको मापदण्ड बनाएका छौँ, तर हामी यसलाई बनाउने कार्यमा भने सहभागी हुँदैनौँ। निजी कम्पनीहरूलाई बनाउन दिन्छौँ।”
“उनीहरूले बनाएकै यानलाई हामी प्रयोग गर्छौँ र चन्द्रमा र अन्तत: मङ्गल ग्रहमा पनि हामीले त्यही विधि लागु गर्ने हो,” नासाका अधिकारीले व्याख्या गरे।
पछिल्लो शटल अभियानको टोलीले अन्तरिक्षकेन्द्रमा छोडेको अमेरिकी झण्डा कोसेलीका रूपमा हर्ली र बेन्कनले आफूहरूसँगै फिर्ता ल्याउनेछन्।
(वीवीसी नेपाली सेवा बाट)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्