Techie IT
८ असार २०७८, मंगलबार

पानी व्यापारी बने चीनका सर्वाधिक धनी

ज्याक मालाई पछाडि पारेका झोङले यसरी कमाए अर्बौं डलर सम्पत्ति


बेइजिड. ।
चिनियाँ सर्वाधिक धनीमा नयाँ अर्बपतिले अलिबाबाका संस्थापक ज्याक मालाई पछि पारिदिएका छन् । चर्चित बोतल पानी ब्रान्ड नोंग्फु स्प्रिङका संस्थापक झोंग शान्शानले मालाई चीनकै सर्वाधिक धनीमा उछिनेका हुन् ।

ब्लुमबर्गको अर्बपति सूचकांकअनुसार झोंगले ज्याकलाई पछाडि पारिदिएका हुन् । यसअघि नै झोंग चीनको तेस्रो ठूला धनीमा गनिइसकेका थिए । उनको कम्पनी पब्लिकमा रुपान्तरण हुँदै अघिल्लो महिना हङकङको सेयरबजारमा सूचीकृत भएको थियो । गत बुधबारसम्म झोंगको सम्पत्ति ५८ अर्ब ७० करोड अमेरिकी डलर नाघिसकेको छ । ब्लुमबर्गको हिसाबकिताबअनुसार ज्याकसँग ५६ अर्ब ७० करोड अमेरिकी डलरबराबर सम्पत्ति छ ।

झोङको फड्कोले टेन्सेन्टका संस्थापक पोनी मालाई पनि पछाडि पारिदिएको छ । त्यसो त ज्याक मा र पोनी माजस्तो झोङ प्रविधि उद्यमी होइनन् । नोंग्फु स्प्रिङबाहेक झोंग खोप उत्पादक बेइजिङ वान्टाई बायोलोजिकल फार्मेसीका प्रमुख पनि हुन् । यो वर्ष मात्रै उक्त कम्पनी पनि शांघाईमा सूचीकृत भइसकेको छ । यसले पनि झोंगको सम्पत्ति वृद्धिमा योगदान पुगेको बताइएको छ।

प्रविधिबाहिरको क्षेत्रबाट उदाएर झोंग चीनकै सर्वाधिक धनी बन्न सफल भएका हुन् । अन्य चिनियाँ धनाढ्यभन्दा झोंग निकै सामान्य जनजीवनका मानिन्छन् । उनले पाएको पछिल्लो सफलताअगाडि नै ट्रयाक रेकर्ड राम्रो रहेको बताइन्छ ।

चीनमा विश्वकै धेरै डलर अर्बपति रहेका छन्। त्यसमा झोंगको उदयले थप ऊर्जा थपेको छ । चीनमा अमेरिका र भारतको कुल अर्बपति संख्याभन्दा धेरै अर्बपति रहेको हुरुन रिपोर्टले देखाएको छ ।

ब्लुमबर्गको हिसाबकिताबअनुसार झोंग गत महिनासम्म मात्रै २० अर्ब डलरका मालिक थिए तर केही हप्तामै उनले त्यसको तेब्बर आर्जनसहित चीनकै सर्वाधिक धनीको पद ओगटेका हुन् । उनको सम्पत्ति अझै बढ्ने आँकलन गरिएको छ । बितेका महिनाहरुमा कम्पनीहरुले चीनमा आईपीओ जारी गरिरहेका छन् । हङकङलाई विश्वकै दोस्रो जनप्रिय सेयरबजार मानिन्छ । डेटा उपलब्ध गराउने रिफिनिटिभका अनुसार यो न्युयोर्कको नास्डाकपछिको चर्चित सेयरबजार हो ।

गत वर्ष प्रविधि कम्पनीको प्रभुत्व रहेको नास्डाककै नक्कल गर्दै चीनको शांघाईमा स्टार मार्केट खोलिएको थियो । यसमा पनि उच्च कारोबार हुनथालेको छ । यो बजारमा पनि आईपीओ र सेकेन्डरी सूचीकरणमार्फत २१ अर्ब ६० करोड डलरबराबरको रकम जम्मा भइसकेको छ ।

हङकङ र शांघाईमा यो वर्ष एन्ट ग्रुप र अलिबाबाको ठूलो आकारको आईपीओले ऐतिहासिक रुपमा बजार पिट्ने आँकलन गरिएको छ । दुवै बजारमा ३० अर्ब डलरसम्म उठ्ने आँकलन छ । योसँगै ज्याक माले फेरि चीनकै सर्वाधिक धनीमा फर्किने पनि आँकलन गरिएको छ । सेयरबजारमा चहलपहल र उच्च कारोबारसँगै यो वर्ष थप १०० नयाँ डलर अर्बपतिको उदय हुनसक्ने विश्वास गरिएको छ । सीएनएनबाट अनुदित (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्