Techie IT
बिहीबार, कात्तिक १३,२०७७

यी हुन् यो वर्ष महामारीमा पनि सफल एसियाका महिला व्यवसायी


काठमाडौं ।
अचानकको कोरोना महामारीले संसारभर प्रभाव पा-यो । व्यावसायिक विश्वलाई त छिन्नभिन्न नै बनायो । लाखौँ मानिसले ज्यानै गुमाउँदा करोडौँ मानिस कोरोनाबाट प्रभावित बने । यस्तो भयावह र प्रतिकूल परिस्थितिमा पनि एसियाका केही महिला व्यवसायीले भने नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । चर्चित म्यागजिल फोब्र्सले यो वर्षको एसियाका पावर बिजनेस वुमनको सूची प्रकाशित गरेको छ ।

कठिन परिस्थितिमा पनि सफल भएका यी महिलाहरु रिटेल, लजिस्टिकस्ता क्षेत्रसँगै बायोटेक, फिनटेक, इडटेकजस्ताबाट प्रतिनिधि छन् । यिनमा अस्ट्रेलियाकी मेलानी पार्किन्स पहिलो नम्बरमा छिन् । ३३ वर्षीया उनी क्यान्भाकी सहसंस्थापक तथा सीईओ हुन् । क्यान्भा ग्राफिक डिजाइन सफ्टवेयर कम्पनी हो । यो कम्पनीको मूल्यांकन ६ अर्ब डलर माथि छ । यसले ७ सयलाई रोजगारी दिएको छ भने १ सय ९० देशमा ३ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् ।

त्यस्तै चीनकी झाओ यान दोस्रो नम्बरमा छिन् । उनी ब्लुमेज बायोटेक्नोलजीकी प्रमुख तथा जीएम हुन् । उनले सन् २००१ मा यो कम्पनी किनेकी हुन् । यसले औषधि, कस्मेटिक र फुड सप्लिमेन्टमा प्रयोग हुने ह्यालुरोनिक एसिड उत्पादन गर्छ । विश्वबजारको एक तिहाइ बजार हिस्सा ओगट्न सफल यो कम्पनी सन् २०१९ मा सांघाईको साइन्स टेक्नोलोजी इन्नोभेसन बोर्डमा पब्लिकमा रुपान्तरण भएको छ । यसअघि हङकङमा सूचीकृत थियो ।

कम्पनीको सेयर ह्वात्तै बढेको छ भने झाओ चीनकै सर्वाधिक धनी महिला बनेकी छिन् । उनीसँग ६.४ अर्ब डलर सम्पत्ति छ । गत वर्ष कम्पनीको नाफा पनि ३८ प्रतिशतले बढेर ५८ करोड ६० लाख युआन पुगेको थियो । झाओ ब्लुमेज इन्टरनेशनल इन्भेस्टमेन्ट ग्रुपसँग पनि आबद्ध छिन् । उनी सुरुमा कलेज शिक्षिका थिइन् ।

त्यस्तै सिंगापुरकी लिली कोंग तेस्रो नम्बरमा छिन् । उनी सिंगापुर मेनेजमेन्ट युनिभर्सिटीकी अध्यक्ष हुन् । उनी यसकी पाँचौँ र पहिलो महिला अध्यक्ष हुन् । भूगोल विषयकी प्राध्यापक उनले सन् २०११ मा येल एनयूएस कलेज खोल्न सहयोग गरेकी थिइन् । गत वर्ष उक्त कलेज आफैँले लिइन् । त्यसयता यसको विकास र विस्तारमा भूमिका खेलिरहेकी छिन् । त्यस्तै चौथो नम्बरमा परेकी भारतकी रोशनी नाडार मल्होत्रा एचसीएल टेक्नोलोजिजकी प्रमुख हुन् । उनीबाहेक मलेसियाकी क्यारोलिन रसेल पनि फोब्र्सको यो सूचीमा अटाएकी छिन् । उनी बीओएच प्लान्टेसनकी कार्यकारी प्रमुख तथा सीईओ हुन् ।

फोर्ब्सको यो सूचीमा थाइल्यान्डकी प्रियानार्ट सुन्तोन्र्वाता, जापानकी आया कोमाकी, चीनकी सामन्था डु, भारतकी दिव्या गोकुलनाथ, दक्षिण कोरियाकी यांग युन सुन, भियतनामकी ट्रुअङ थि ली खान्ह, जापानकी माकी अकाइदा, इन्डोनेसियाकी देवी मुलियाटी, थाइल्यान्डकी नुअलफान लाम्साम, अस्ट्रेलियाकी क्यारोलिन क्रेसवेल, भारतकी अमिरा शाह, सिंगापुरकी रचेल एंग, फिलिपिन्सकी ओलिभिया लिम्पे अ, दक्षिण कोरियाकी जांग इन अ, हङकङकी लुसी युटिङ लिउ, थाइल्यान्डकी जारिपर्न जारुकोर्नसाकुल, चीनकी अन्नाबेली लंग, भारतकी विनाती सर्राफ मुर्तेजा, इन्डोनेसियाकी नाबिला, अल्सागल्फ, भियतनामकी गुयेन ब्याक डिएप पनि रहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्