Techie IT
बिहीबार, कात्तिक १३,२०७७

सधैँलाई अनलाइन बिक्रीमा रुपान्तरण हुने नाइकको तयारी


अमेरिका ।
स्पोर्ट्सवेयर कम्पनी नाइकले कोरोना महामारीमा बाध्यताले अनलाइन बिक्री गरे पनि यसमा ग्राहकको रुचि बढेकाले अब सधैँलाई अनलाइनमै रुपान्तरण हुने तयारी गरेको छ । यो महामारीका दौडान जुन–अगस्ट त्रैमासिकमा ८२ प्रतिशत बिक्री भएपछि यसलाई निरन्तरता दिने आशा गरेको कम्पनीले बताएको छ ।

मंगलबारमात्रै कम्पनीले १० अर्ब डलरको आम्दानी गरेको विवरण सार्वजनिक गरेको छ । उसको चीनलगायत धेरै मुख्य बजार महामारीबाट उत्रिसकेको छ । त्यसअघि कम्पनीको बजार महामारीका कारण जारी लकडाउन र स्टोरबन्दीले खस्केको थियो । कम्पनीका प्रमुख कार्यकारी जोन डोनाहोइले अब कम्पनी सधैँका लागि अनलाइन बिक्रीमा शिफ्ट हुनसक्ने बताए ।

‘अहिले अनलाइन कारोबार सामान्यजस्तै भइसकेको छ’, उनले भने, ‘अब बजार फेरि पुरानै शैलीमा फर्किँदैन होला किनकि अनलाइनमा रुचि बढ्दो छ ।’ कम्पनीका अनुसार चीन, जापान, दक्षिण कोरिया र बेलायतमा अनलाइन बिक्री राम्रो भइरहेको छ भने उत्तर अमेरिकामा भने बजार खस्किरहेको छ ।

नाइकले आफ्नो वेबसाइट र शपिङ एप्लिकेसनमार्फत बिक्री गरिरहेको छ । उसले अनलाइनमार्फत सिधै ग्राहकसँग जोडिने मौका पनि पाएको छ । यसले स्टोर र खुद्रा पार्टनर घटाएको छ । महामारीका कारण जिमहरु बन्द भएपछि कम्पनीले सामान्य जुत्ताहरुमा मानिसहरुको रुचि र माग बढेकोले सोहीअनुसार अगाडि बढेको बताएको छ । त्यस्तै नाइकको अर्को प्रतिस्पर्धी कम्पनी एडिडासले पनि आफ्नो बजार बिक्री बढिरहेको बताएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्