Techie IT
बिहीबार, कात्तिक १३,२०७७

‘कोभिड १९’ बाट विश्वमा संक्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो

अमेरिकामा दुई लाख जनाको मृत्यु


काठमाडौं ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १८ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १८ लाख २४ हजार नौ सय आठ पुगेको हो ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ७६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड ३४ लाख २७ हजार नौ सय १८ व्यक्ति कोरोनामुक्त भएका छन् । अझै पनि विश्वमा ७४ लाख २० हजार आठ सय ३५ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७० लाख ९८ हजार दुई सय ९१ भन्दा बढी संक्रमित भएका छन् भने दुई लाख पाँच हजार चार सय ९१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५६ लाख ५० हजार नाघेको छ । ब्राजिलमा १ लाख ३८ हजार १५९ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ९० हजार ७७ जनाको मृत्यु भएको छ । रुस ११ लाख २२ हजार दुई सय ४१ संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको कोलम्बियामा सात लाख ७७ हजार पाँच सय ३७ जनामा संक्रमण रहेको छ । छैटौैं स्थानमा रहेको पेरुमा सात लाख ७६ हजार पाँच सय ४६ व्यक्ति संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ । केही दिनअगाडि मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो देशमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउनसक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका थिए ।

‘अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ’, प्रधानमन्त्री जोन्सनले भनेका छन् ।

यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने बताएका थिए । उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउनसक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो । (रासस/एएफपी) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्