Techie IT
बिहीबार, कात्तिक १३,२०७७

कोरोना संक्रमण पुनः बढ्न थालेपछि घट्यो एसियाली सेयरबजार


काठमाडौं ।
मंगलबार एसियाली सेयरबजार नकारात्मक दिशामा गएको छ । अमेरिका र बेलायत जस्ता देशमा कोरोना संक्रमण बढ्दै गर्दा लगानीकर्ताहरु डराएका हुन् । अस्ट्रेलिया, हङकङ, चीन र दक्षिण कोरियाका सेयरबजार ओरालो लागेका हुन् ।

त्यस्तै लगानीकर्ताहरु अमेरिकी अर्थतन्त्रलाई वित्तीय सहयोग सरकारले दिने आशा मरेसँगै त्यसको असर सेयरबजारमा देखिएको छ । यद्यपि युरोपेली बजार भने मंगलबार सुरुवाती कारोबारमा धेरै नै अंकले बढेका थिए । लन्डनको १०० सेयर इन्डेक्स शून्य दशमलव चार प्रतिशतले बढेर ५८२६.२४ विन्दुमा रोकिएको थियो ।

त्यसअघि अस्ट्रेलियाको अल अर्डिनरी भने शून्य दशमलव सात प्रतिशतले घटेर ५९७३.५० अंकमा पुगेको थियो । त्यस्तै हङकङको हांग सेंग पनि १ प्रतिशतले घटेर २३७२०.०६ अंकमा पुगेको थियो । चीनको सांघाई कम्पोजिट १.३ प्रतिशतले घटेर ३२७४.३० विन्दुमा पुगेको थियो भने दक्षिण कोरियाको कोस्पी २.३८ प्रतिशतले घटेर २३३२.५९ अंकमा रोकिएको छ ।

जापानको बजार भने मंगलबार विदाका कारण बन्द भएको थियो । सोमबार बेलायत र अमेरिकी सेयरबजारमा ठूलो गिरावट आएको थियो । संक्रमण दर बढेपछि सेयरबजारमा त्यसको प्रभाव देखिएको थियो । सो क्रममा ५० अर्ब पाउन्डभन्दा बढी स्वाहा भएको बताइएको छ । अमेरिकी र बेलायती सेयरबजारमा यस्तो अवस्थापछि एसियाली सेयरबजारमा त्यसको नकारात्मक प्रभाव परेको हो । चीनको अर्थतन्त्र पुनरुत्थान भइरहँदा पछिल्लो समय सकारात्मक बनिरहेको एसियाली सेयरबजारमा पश्चिमा सेयरबजारको अवस्थाले पिरोलेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्