Techie IT
बिहीबार, कात्तिक १३,२०७७

अमेरिकाद्वारा इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा


वासिड.टन डीसी ।
संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्थाविरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको छ । इरानविरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटेपछि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको हो ।

इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्तिविरुद्ध प्रतिबन्धहरु लगाउनेसम्बन्धी एक कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको अमेरिकी मिडियाले जनाएका छन् । कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै जारी गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘मेरो आदेशले इरानी सत्ता र इरानविरुद्ध उभिन अस्वीकार गर्ने अन्तर्राष्ट्रिय समुदायका लागि स्पष्ट सन्देश दिएको छ । मेरो प्रशासनले इरानलाई आणविक, ब्यालिस्टिक क्षेप्यास्त्र र परम्परागत घातक हातहतियारको निर्माण रोक्न हरसम्भव प्रयत्न गर्नेछ ।’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जारी गरेको अर्को वक्तव्यमा इरानविरुद्ध हतियार आपूर्ति रोक्ने राष्ट्रसंघीय प्रतिबन्धहरु अब अनिश्चितकालसम्म जारी रहने दाबी गरेका छन् । उनले इरानले आफ्नो व्यवहारमा परिवर्तन नल्याउँदासम्म यी प्रतिबन्धहरु लागू भइरहने बताए । विदेशमन्त्री पोम्पेओले प्रतिबन्ध उल्लंघन गर्नेविरुद्ध जवाफदेही बनाइने पनि बताए ।

राष्ट्रसंघ सुरक्षा परिषद्मा सहमति नभए पनि संयुक्तराज्य अमेरिकाले एकपक्षीय रुपमा इरान विरुद्ध राष्ट्रसंघीय प्रतिबन्धहरु लागू भएको घोषणा गरेको छ । केही जानकारहरुले इरान विरुद्ध एकपक्षीय प्रतिबन्ध घोषणा गर्ने कानुनी अधिकार अमेरिकासँग नरहेको जिकिर गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले इरानमाथि थप दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरे । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्