Techie IT
८ असार २०७८, मंगलबार

विश्वभर दुई करोड २३ लाख कोरोनामुक्त


काडमाडौं ।
कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस संक्रमित भएका छन् भने तीमध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्ममा विश्वभरी कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या तीन करोड सात लाख २१ हजार ६६ पुगेको छ ।

त्यसैगरी मृत्यु भएकाहरुको संख्या नौ लाख ५६ हजार आठ सय ७६ पुगेको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुल संक्रमितमध्ये दुई करोड २३ लाख ५३ हजार तीन सय छ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । त्यसबाहेक विश्वभर अहिले पनि ७४ लाख आठ हजार पाँच सय ३१ जना संक्रमित अवस्थामै रहेका छन् ।

विश्वभर अहिले पनि संक्रमित अवस्थामै रहेकामध्ये ७३ लाख ४७ हजार एक सय १४ जना मध्यम अवस्थामा रहेका छन् भने अरु ६१ हजार चार सय १७ जना गम्भीर अवस्थामा रहेका छन् । गम्भीर अवस्थामा रहेकाहरुको अनुपात कुल सक्रिय संक्रमितहरुमध्येको एक प्रतिशत मात्रै हो । देशअनुसार हेर्दा विश्वभर सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म कुल ६९ लाख २५ हजार नौ सय ५१ जना संक्रमित भएका छन् । तीमध्ये दुई लाख तीन हजार एक सय ७१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै संक्रमितहरु रहेको भारतमा अहिलेसम्म ५३ लाख आठ हजार १४ जना संक्रमित भएका छन् भने ८५ हजार छ सय २५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट संक्रमितहरुको संख्याका आधारमा ब्राजिल तेस्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४४ लाख ९७ हजार चार सय ३४ जना संक्रमित हुँदा एक लाख ३५ हजार आठ सय ५७ जनाको मृत्यु भएको छ ।

चौथोमा रहेको रुसमा दश लाख ९७ हजार दुई सय ५१ जना संक्रमित र १९ हजार तीन सय ३९ जनाको मृत्यु भएको तथ्यांक छ । पेरुमा अहिलेसम्म सात लाख ५६ हजार चार सय १२ जना संक्रमित हुँदा ३१ हजार दुई सय ८३ जनाको मृत्यु भएको छ । यो कोरनोभाइरसबाट संक्रमितहरुको संख्याका आधारमा पाँचौँ धेरै संक्रमितहरु भएको मुलुकमा पर्दछ । त्यसैगरी संक्रमितहरुको संख्याकै आधारमा कोलम्बिया छैठौँ, मेक्सिको सातौँ, स्पेन आठौँ, दक्षिण अफ्रिका नवौँ र अर्जेन्टिना दशौँमा पर्दछ । (रासस/एपी) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्