Techie IT
शनिबार, असोज ३,२०७७

भारतमा वर्षे अधिवेशन सुरु, १७ सांसद कोरोना संक्रमित


नयाँ दिल्ली, भदौ ३०
भारतका १७ जना सांसद कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि गरिएको छ । संघीय संसदको वर्षे अधिवेशन सुरु हुनुअघि परीक्षण गरिएको नतिजाअनुसार उनीहरु संक्रमित भएको सोमबार देखिएको हो । संक्रमित भएकाहरुको सूचीमा सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली सांसदहरु मिनाक्षी लेखी, अनन्त कुमार हज्डी र प्रवेश सहिब सिंहलगायत रहेका छन् । भारतको संघीय संसदको वर्षे अधिवेशन सोमबारदेखि सुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण यो अधिवेशन ढिला गरी सुरु गरिएको हो ।

बैठकमा सहभागी हुँदा कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाउन अनिवार्य गरिएको छ । स्वास्थ्य निर्देशिकाअनुसार सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुनेलगायतका उपायहरु अवलम्बन गर्न लगाइएको छ । त्यसैगरी सांसदहरुको हाजिरी सोमबार पहिलो दिन एउटा एपमार्फत गरिएको लोकसभा सचिवायले जनाएको छ । कुनै हाजिरी पुस्तिका वा मेसिनमा हाजिर गर्दा कोरोनाको संक्रमण एक अर्कामा सर्न सक्ने भएकाले एपको प्रयोग गरिएको हो ।

लोकसभाका सांसदहरुले प्रयोग गर्ने गरी एटेन्डेन्स रजिष्टर (उपस्थिति दर्ता) नामक एप बनाइएको र पहिलो दिन पनि प्रयोग गरिएको सचिवालयका अधिकारीहरुले बताएका छन् । सो एप राष्ट्रिय सूचना केन्द्रले बनाएको हो । सांसदहरु संसद् भवनमा उपस्थित भएपछि सचिवालयको सहयोगमा एपमार्फत उनीहरुको उपस्थिति दर्ता हुने व्यवस्था गरिएको छ ।

सभामुख ओम बिर्लाले सबै सांसदहरूलाई स्वागत गर्दै अहिलेको विशेष परिस्थितिलाई ख्याल गर्न सबैलाई आह्वान गरेका थिए । त्यसैगरी कोरोनाभाइरसको संक्रमण फैलिन नदिनका लागि तय गरिएको निर्देशिका तथा मापदण्डहरु पालना गर्न पनि उनले सबैलाई अपिल गरेका थिए । ‘यो अधिवेशन विषेश परिस्थितिका साथ सुरु गरिएको छ, सुरक्षा सावधानी हामी सबैले अपनाउन आवश्यक छ, सावधानीका साथ अधिवेशनलाई अगाडि बढाइनेछ’, सभामुख बिर्लाले भने । बैठक भोलि बुधबार ३ बजे दिउँसो बस्ने गरी स्थगित भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्