Techie IT
१४ असोज २०७९, शुक्रबार

शक्तिको संरक्षणमा कारबाहीको नाटक


कबुल गरेअनुसारको काम नगरेपछि कारबाही गरिएको भन्ने सन्दर्भमा पछिल्लो समय दुई ठेकेदार चर्चामा अएका छन् । गएको पुस महिनामा कबुल गरेका काम यो भदौ महिनामा पनि सम्पन्न भएनन् । कुनै पनि काम समयमा भएन भने त्यसको प्रत्यक्ष असर आम नागरिकले व्यहोर्नु पर्छ । अहिलेको चर्चा भनेको रासायनिक मलको विषय हो ।

किसानले समयमै मल नपाउँदा वर्षेनी कृषि उत्पादनमा नोक्सान परिरहेको छ । अन्न नफलेपछि किसानले कसरी गुजारा गर्ने ? किसानका लागि यो वस्तुको महत्व कति रहेछ भन्ने त कोरोनाको यस्तो महामारीका बेला दिनभर लाइनमा लागेर रित्तै घर फकँर्दा उनीहरू धुरुधुरु रोएका दृश्यहरू प्रस्ट पार्र्छ । अनुमान गरौं यसको क्षतिपूर्ति के होला । एउटा किसानको जीवन बर्बाद बनाएको अवस्था एकातिर छ भने अर्को राष्ट्रिय अर्थतन्त्रलाई पनि यसले धक्का दिएको छ ।

पहिले नै चर्चामा आएको थियो, निर्माण क्षेत्रका ठेक्कापट्टाका काम समयमा सम्पन्न गर्न असफल भएका व्यक्ति तथा कम्पनीलाई राजनीतिक प्रभावका कारण यस्तो काम दिइयो भन्ने । यो ठाउँमा चर्चा भएका यी ठेकेदार उच्च राजनीतिक नेतृत्वको संरक्षणमा छन् भन्ने जोसुुकैलाई पनि जानकारी थियो । सत्तारुढ दलका अध्यक्षका घरधनी रहेको कारण यो क्षेत्रमा कहिल्यै कारोबार नगरेका व्यक्तिले यति ठूलो ठेकका पाएका भन्ने चर्चा अहिले पुष्टि भयो ।

उनीहरूले सम्झौताअनुसार रासायनिक मल खरिद गरेर नेपाल ल्याउन सकेनन् । कबुलेका काम गर्न नसकेको कारण कृषि सामग्री कम्पनी लिमिटेडले ती दुई कम्पनीले राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्द गरेको भन्ने कुरा बाहिर आएको छ । समाचारमा आएअनुसार सम्झौता रद्द गरेको कृषि सामग्री कम्पनीले ती दुई सप्लायर्स कम्पनीसँग प्रचलित कानुन एवं सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम क्षतिपूर्ति दाबी गर्ने जनाएको छ ।

प्रश्न हो यो क्षतिपूर्ति कसरी । माथि पनि वताइसकियो परिण्णाम यस्तो आउदै छ है भन्ने कुरा पहिलेपनि संकेतका रूपमा प्रकट भएको थियो । ठेक्का दिएकै समयमा यो कम्पनीको अनुभव हेरिएन । अरु कामका लागि अनुभव चाहिन्छ भने यस्तो लाखौँको सरोकार रहेको विषयमा अनुभव नै नभएकालाई दिनु उच्च तहको शक्तिको खेल भएको कुरा त्यसै प्रस्ट भइसकेको थियो । त्यस्तो बेला यिनै सप्लायर्स कम्पनीलाई कालोसूचीमा राख्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको भन्ने पनि एउटा औपचारिक र तत्कालको लागि जनआक्रोश मत्थर पार्नका लागि हो भन्ने बुझिएको छ ।

भगवान शिवजीको घाँटीमा रहेको सर्पलाई गरुडले पनि नमस्कार गर्छ भनिन्छ । नत्र सर्प गरुडको खानेकुरा हो । विगतका धेरै उदाहरण छन् । यो ठाउँमा पनि त्यस्तै भेरहेको छ । यी ठेकेदारले राज्यलाई कति ठाउँमा धोका दिए र फेरि काम भने पाइनै रहे । यो पछिल्लो ठेक्का त्यसकै नमुना थियो ।

जस्तो यसअघि कोरोनाको बन्दोबस्ती खरिदमा एउटा व्यापारी समूह ओमनीमाथि बालुवाटारको कृपा भएका कारण माफी दिइयो । यी दुवै विषय महत्वपूर्ण मानिन्छन् । एउटाले संवेदनशील समयमा मूल्य बढायो, अर्कोले सामान नै ल्याएन । जब कृपाबाट सबै कुरा हुन्छ भने कारबाहीका यस्ता कागजपत्रहरू पनि त्यही कृपाले जलाइदिन्छ । नेतृत्वले कृपा गरेबापत सुविधा उपभोग गरिरहेको अवस्थामा यो स्वाभाविक पनि होला । कामना मात्रै गरौं यो पटक त्यस्तो नहोस् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय


तपाईको कमेन्ट लेख्नुहोस्