Techie IT
८ असार २०७८, मंगलबार

जनताको भोक र प्रधानमन्त्रीको भाषण


अहिले ‘कोरोनाको रोग ठूलो कि बेरोजगारहरूको भोक’ भन्ने विषयले खुब चर्चा पाइरहेको छ । देशभरि नै रोगले भन्दा भोकले मरिने डर फैलिएको छ । त्यसको प्रतिबिम्ब हेर्न खुलामञ्च र पशुपति क्षेत्रमा दिनहुँ लाग्ने लाइनमा देख्न सकिन्छ, जो एक छाक टार्न भनी टाढाटाढादेखि बालबच्चा बोकेर धाइरहेका छन् । कोरोनाको नाममा सरकारले गरिखाने हातहरू भाँचिदिएको छ ।

गएको चैतदेखि प्रारम्भ भएको यो भोकको महायात्राले छ महिना पूरा गरिसक्यो । अब सातौँ महिना चलिरहेको छ । अझै कति दिन यो चलिरहने हो भन्ने निश्चित छैन । सरकार यो हदसम्मको बेखबर होला भन्ने कसैले सोचेका पनि थिएनन् । सरकार विकल्पविहीन रूपले बन्दाबन्दी ठोकिरहेको अवस्थाले पनि धेरै कुरा बुझाउँछ ।

अहिले त के देखियो भने भोकका बारे प्रधानमन्त्री मुखले मात्र बोल्दारहेछन्, उनीसँग यसका विरुद्ध न कुनै योजना छ न कार्यक्रम नै । कोरोनाले उत्पन्न गरेको बेरोजगारीप्रति संसार चिन्तित छ तर नेपाल भने पूरै मौन छ । यदि कुनै मनकारी रहेनछ भने यतिबेलासम्म कतिको ज्यान यही भोकले लिइसकेको हुनेरहेछ ।

प्रधानमन्त्रीले भोकका बारे बोलेका कुरा एक ठाउँमा राखियो भने पनि चित्र झन् प्रस्ट हुन्छ । ‘अब हामी देशको एक जना नागरिक भोको छ/छैन, एक जना पनि नागरिक खान नपाएर त बसेको छैन कि भनेर पनि हेर्छौं  ।’ आजभन्दा दुई वर्षअघि असार ०७५ मा प्रधानमन्त्रीले यसो भनेका थिए । देशको एक जना नागरिक भोको छ/छैन, एक जना पनि नागरिक खान नपाएर त बसेको छैन कि भनेर पनि हेर्छौं  भन्नु भनेको कुरा सामान्य होइन, खोजीनीति गर्छौं भनिएको हो । मान्छे भोको रहनु र भोको रहेको छ कि भनी खोज्नु फरक कुरा हो ।

प्रधानमन्त्रीले नै सडकमानवमुक्त बनाउन निर्देशन दिएका थिए १३ असोज ०७६ मा । सरकारको ०७५/७६ को बजेटमै ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारा दिइएको थियो  । ओली सरकारको निर्वाचनपछिको यो पहिलो बजेट हो ।

प्रधानमन्त्री ओलीले त्यसपछिका हरेक कार्यक्रममा भन्दै आएका छन्, ‘हरेक नागरिकले सबै सेवा र सुविधा पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । अब नेपालमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन । नेपाली भिखमंगा हुन सक्दैन । खानलाउन नपाउने नेपाली हुन सक्दैन ।’ १५ वैशाख ०७६ को एउटा सार्वजनिक कार्यक्रममा उनले सार्वजनिक आह्वान नै गरे सडकमा कोही सडकमानव देखे फोन गर्नू भनेर । त्यसै पनि उनले अब सडकमानवमुक्त देश घोषणा गर्ने कार्यक्रम पनि बताइसकेका नै हुन् ।

यही कोरोनाका सन्दर्भमा उनले सार्वजनिक सम्बोधन अर्थात् राष्ट्रका नाममा सम्बोधन गर्दा पटक–पटक भोकले कोही नमर्ने भनिरहे । तर कोरानाका प्रारम्भिक दिनमा केही व्यक्तिलाई झरपात उखेल्न लगाएर रोजगारी दिएजस्तो गरिएबाहेक वास्तवमा नै भोकका बारे सरकारले अहिलेसम्म एउटा पनि कार्यक्रम ल्याएको छैन । यसको अर्थ हो प्रधानमन्त्री मान्छेको भोकलाई पनि भाषणको मात्र विषय मानिरहेका छन् । यो वास्तवमा नै जनताका लागि दूर्भाग्यको विषय हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय


तपाईको कमेन्ट लेख्नुहोस्