Techie IT
शुक्रबार, मंसीर १२,२०७७

कारोबार नभएको सञ्चितिको अर्थ


राष्ट्र बैंकको तथ्याङ्कअनुसार देशको अर्थतन्त्र अरु समयभन्दा मजबुतीको अवस्थामा छ । आयात व्यापार घाटा घट्यो भने गत वर्षको तुलनामा देशको शोधानान्तर स्थितिमा वृद्धि भयो । संसार कोरोना महामारीको चपेटामा परेको बेला देशको रोमिट्यान्समा कतै प्रभाव परेन । विगतको तुलनामा हाराहारीकै स्थितिमा रह्यो ।

आर्थिक वृद्धिदर पनि अनुमान गरिएजसरी तल झरेको पाइएन । अर्थमन्त्रीले नै देशको अर्थतन्त्रमा कोरोनाले त्यस्तो प्रभाव पारेको छैन, ढुक्क भए हुन्छ भनी प्रतिक्रिया दिएका छन् । उनले भनेजस्तै तथ्याङ्कमा देखिएको अर्थतन्त्र पनि मजबुत नै छ भने यसलाई राम्रो मान्नु पर्छ । संसारको अर्थतन्त्रले अधोगति लिएको र मन्दीको अवस्था आउने संकेत प्रकट भइरहेको बेला नेपालमा करोनाले खासै कुनै प्रभाव नपारेको भन्ने कुरा आउनु वास्तवमा नै सकारात्मक पक्ष हो । तर यो कति सत्य हो भन्नेचाहिँ आफ्नै ठाउँमा छ । सरकारले आफ्नो पोजिसन बलियो देखाउन तथ्याङ्कमाथि खेलवाड गर्नेगरेका उदाहरण विगतमा बारम्बार प्रकट भइरहेका थिए र छन् पनि । त्यो परिप्रेक्षमा सरकारको भनाइलाई त्यति भरपर्दो रूपबाट मानिहाल्ने अवस्था छैन ।

सरकारकै भनाइअनुसार शोधानान्तर स्थितिको बचत अहिले सामान्य अवस्थाको भन्दा पनि सुविधाजनक रहेको छ । राष्ट्र बैंकले हालै गरेको प्रक्षेपणअनुसार शोधानान्तर स्थिति दुई खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा देखिएको छ  । बैंक नै भन्छ, गत आर्थिक वर्षमा मुुलुकको शोधानान्तर स्थिति दुुई खर्ब ८२ अर्ब ४१ करोड रूपैयाँले बचतमा देखियो, अघिल्लो वर्षमा शोधानान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधानान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा गत आर्थिक वर्षमा दुई अर्ब ३५ करोड रुपैयाँले बचतमा रहन गयो । आयात व्यापार नभएपछि स्वाभाविक रूपमा विदेशी मुद्राको सञ्चिति बढ्ने नै भयो । शोधानान्तर स्थितिमा बढी भार पर्ने भनेको नेपालको विगतले नै बताउँछ । बैंकले हालै सार्वजनिक गरेको विवरणमा यस अवधिमा मुुलुकको कुुल वस्तुु आयातमा १५ दशमलव छ प्रतिशतले कमी आएर ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँमा सीमित रहेको छ  । यो एकप्रकारले देशको व्यापार घाटा घट्दै गएर सन्तुलनतर्फ गएको हो त भन्ने देखाउँछ । तर यता सन्तुलनमा ल्याउन निर्यात पनि त्यहीरूपमा बढ्नुपर्नेमा शून्यमा सीमित रह्यो ।

प्रतिवेदनअनुसार यस अवधिमा कुुल वस्तुु निर्यात शून्य दशमलव छ प्रतिशतले मात्र बढेर ९७ अर्ब ७१ करोड रूपैयाँ सीमित रहन गयो । सरकारको भनाइअनुसार अघिल्लो आर्थिक वर्षमा भने यस्तो व्यापार घाटा १३ दशमलव पाँच प्रतिशतले बढेको थियो । यसैगरी उक्त अवधिमा कुुल वस्तु आयात १३ दशमलव नौ प्रतिशतले बढेको थियो भने कुुल वस्तु निर्यात १९ दशमलव चार प्रतिशतले बढेको थियो । यो विवरणले नै भन्छ, व्यापारको अवस्था करिब–करिब ढप्प नै रह्यो ।

नेपालको विदेशी मुद्राको भण्डार रेमिट्यान्स नै हो । त्यो बितेका नौ महिनासम्म कायमै थियो । यसको बढी प्रभाव भनेको खासगरी गएको आर्थिक वर्षको तीन महिनामा देखियो । त्यसकारण रहलपहले थिग्रिएको अवस्थामा जस्तो सञ्चिति देखियो त्यो आफैँ स्थायी र भरपर्दो होइन । व्यापार नहुनु भनेको विकास निर्माणको काम पनि नहुनु नै हो । यसले कच्चापदार्थ पनि आएन भन्ने जनाउँछ । यस्तोबेला आर्थिक अवस्था बलियो रहेको भन्ने भनाइले मात्रै सम्भावित सङ्कट नटर्ला । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय


तपाईको कमेन्ट लेख्नुहोस्