Techie IT
१ असोज २०७८, शुक्रबार

निषेध मात्रै संक्रमण रोक्ने अचुक अस्त्र होइन


कोरोनाको संक्रमण बढ्दै जाँदा यसलाई अझ फैलिन नदिन भनेर सरकारले लकडाउनभन्दा कडाप्रकारको निषेधाज्ञा एक हप्ताका लागि घोषणा गरेको छ, । एक सय २० दिनको लकडाउन खेपेका नागरिकमा यो निषेधाज्ञा पनि नयाँ होइन । यतिबेला ३२ वटा जिल्लाका कतिपय ठाउँमा लकडाउन र निषेधित क्षेत्र चलिरहेका छन्, त्यसमा उपत्यका पनि थपियो । हाललार्ई यो भदौ १० गते मध्यरातसम्म भनिएको छ तर विगतले के देखाएको छ भने यो लम्बिन पनि सक्तछ । लकडाउनको घोषणा त्यस्तै भएको थियो ।

सुरुमा एक हप्तालाई भनिएको लकडाउन एक सय २० दिन चलेर खुलेको थियो । अहिलेको निषेधित क्षेत्र पनि त्यस्तै हुनसक्छ । यस्तो निषेधका कुरा अरुभन्दा सरकारका लागि सजिलो माध्यम हुन्छ शासन गर्नका लागि पनि । यसमा घोषणा गरिदिए पुग्छ र सरकारले केही गरिरहेको जस्तो पनि देखिन्छ । तर यो मात्रै निकासको बाटो होइन ।

सरकारले लकडाउनको घोषणा गर्दा देशमा जम्मा दुई जना संक्रमित थिए । पहिलो संक्रमित माघ १० मा देखिएका थिए भने चैत्र १० मा दोस्रो संक्रमित देखिए । दोस्रो संक्रमित देखिएपछि सरकार धेरै नै सतर्क भएर लकडाउनको घोषणा गरको थियो । तर यता परिणाम कस्तो आयो भने लकडाउनको दिन जति बढ्यो कोरोना संक्रमणको विस्तार झन्झन् बढ्दै गयो ।

गत आर्थिक वर्षको अन्तिम दिन लकडाउनको चार महिना पुग्दा असार ३१ गते नेपालमा कोरोना भाइरसको संक्रमण संख्या १७ हजार पुगेको थियो भने ३९ जनाको मृत्यु भएको थियो । यदि लकडाउन वा भनौँ बन्दाबन्दी वा निषेधाज्ञा नै उपाय थियो भने दुई जनाबाट बढेको यो संख्या यसरी १७ हजार नै पुग्न नहुने थियो ।

यद्यपि त्यो समय निको हुनेको संख्या पनि ठूृलो थियो । जस्तो त्यो दिन ११ हजार २५ जना उपचारपछि निको भएर घर फर्किएका थिए । चार महिनाको यो संख्यालाई सरकारले सम्भवतः ठूलो मानेन होला र नै लकडाउन चलिरहेकै बेला साउनमा सरकारले पीसीआर परीक्षणको दायरा घटायो । पहिलो सात हजारसम्म परीक्षण भइरहेको अवस्थामा ३ साउनमा तीन हजार तीन सय ३१ को मात्र नमुना परीक्षण गरियो, ५७ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

यता कोरोनाको संख्या घटेपछि सरकारले भन्न थाल्यो, संक्रमणको बढ्दो क्रम घट्न थाल्यो । तर वास्तविकता संक्रमणको दर घटेको भन्दा परीक्षणको दायरा वा दर घटेको थियो । यस्तै बेला सरकारले लकडाउन खोल्यो र वातावरण सहज भएको भन्ने सन्देश दियो । कतिसम्म भने सम्पूर्ण यातायात पनि खुल्ने भए । साउन ५ को मन्त्रिपरिषद्को बैठकले होटलहरू खुलाई अन्तरजिल्लामा सवारीसाधन चलाउने र हवाइ उडानका तालिकाहरू प्रकाशित भए अर्थात् सबै कुरा त्यही सामान्य अवस्थामा गएको भन्ने बुझायो ।

सरकारले त कतिसम्म भन्यो भने, अब पहिलेको जस्तो लकडाउन कहिल्यै हुँदैन भनेर बारम्बार दोहो¥याइरह्यो । तर यता संक्रमण भने बढ्दै गएर २७ हजार पुग्यो र मर्नेको संख्या पनि कल्पनातीत नै पुग्यो । अहिले निषेधको समय तोक्दा पनि यो बेलासम्मकै सबैभन्दा बढी एक हजार १६ जनामा संक्रमण पुष्टि भएको अवस्था देखियो भने यो एकै दिनमा ७ जनाको मृत्यु भयो । जसले कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या एक सय १६ पुग्यो । यी सबैले के बुझाउँछ भने लकडाउन अथवा निषेधले मात्रै समस्या रोकिने रहेनछ । त्यो समयको भरपुर सदुपयोग गर्नु महत्वपूर्ण हो । त्यसमा सरकार के गर्छ भन्ने परीक्षा हुनेवाला छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय


तपाईको कमेन्ट लेख्नुहोस्