Techie IT
शनिबार, असोज ३,२०७७

कोरोना उपचारमा राज्यविहीनताको अवस्था


राष्ट्रपतिले कोरोना रोकथाममा सरकार पूर्णरूपमा सफल भएको भनी बिनाप्रसङ्ग सरकारको प्रसंशा गरेकै दिन सबैभन्दा बढी कोरोना देखिएको जिल्ला पर्साकी एक युवतीको अकालमै ज्यान गयो । उनमा कोरोनाको लक्षण थियो तर परीक्षण भइसकेको थिएन । त्यस्तो बेला झनै अस्पतालको सेवा आवश्यक पर्नेमा उनलाई अस्पतालको परिसरमा सेमत प्रवेश हुन नदिई एकप्रकारले राज्यको उपचार पद्धतिले ज्यान लियो । यो घटना अस्पताल नपु-याएर होइन र सम्बन्धित अस्पतालको अभाव भएर पनि होइन । ८/१० वटा अस्पताल घुमाउँदै गर्दा कसैले पनि उनलाई उपचारको लागि ग्रहण नगर्दा बाटोमै ज्यान गयो । लक्षणको हिसाबले ती युवतीमा कोरोना थियो । यस्तो बेला त झनै अरुमा सर्ने खतरा रहने र उनकै जीवनमा पनि खतरा बढ्ने कारण अस्पताल पुग्नासाथ उपचारका लागि लिनुपर्ने हो तर त्यस्तो भएन । अस्पतालका गेट चाहार्दाचाहार्दै उनको बाटैमा उनको ज्यान गयो ।

मृतकका आफन्तको यो अनुभव वा भोगाइ हेर्दा यो अवस्थामा सरकारले कस्तो उपचारको व्यवस्था मिलाएको रहेछ भन्ने सधैँका लागि उदाहारण भयो । एकजना आफन्तले भने, ‘त्यहाँ भर्ना लिन नमानेपछि बहिनीलाई नारायणी अस्थायी कोरोना अस्पताल लग्यौँ, त्यहाँ पनि अस्पतालले भर्ना नलिएपछि रिक्सामा गण्डक नजिकैको नारायणी बयोधा अस्पताल पुग्यौँ, बयोधाले पनि भर्ना लिएन । बयोधामा भर्ना नलिएपछि तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म पुगियो सुरुमा नेसनलका स्वास्थ्यकर्मीले बेड खाली भएको जानकारी दिए, बिरामीमा ज्वरो र श्वासप्रश्वासको समस्या भएको थाहा पाएपछि बेड त के भुइँमा पनि ठाउँ खाली नभएको भन्दै फर्काए, पछि नारायणी अस्पताल लग्यौँ, आकस्मिक कक्षमा रहेका चिकित्सकले कोरोनासँग मिल्दो लक्षण देखिएकाले कोरोना अस्पताल लैजान सुझाए , त्यसपछि हालै नारायणी अस्थायी कोरोना अस्पतालका रूपमा सञ्चालित वीरगञ्ज हेल्थ केयर पु-याउँदा त्यहाँ पनि भर्ना लिइएन, कोरोना अस्पतालमा संक्रमण पुष्टि भएकाको मात्र उपचार हुनेगरेको भनेपछि फेरि नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लिएर गयौँ । यी सबै गर्दा ११ देखि २ बजेसम्म वीरगञ्जका सबै निजी अस्पताल पुग्यौँ । कसैले भर्ना लिएनन् ।’

यो विवरण अर्थात् बिरामी घुमाउने यो चक्कर पूरा गर्दा अस्पतालको संख्या सातवटा भइसकेको थियो । यता बिरामीको अवस्था सिकिस्त थियो तर उता अस्पतालले हेर्नसम्म मानेन । पहिले जुन असपतालमा पु-याइएको हो त्यसमा उपचार सम्भव नभएर कुनै अर्को अस्पतालमा रेफर हुनु एउटा स्वाभाविक प्रक्रिया होला तर यो ठाउँमा कोरोनावाला अस्पतालले परीक्षण नभएको भनेर लिएनन् भने साधारण अस्पतालले कोरोनाको बिरामी भनेर । यस्तो बेला अनुमान गरौँ एउटा बिरामीले मर्नुबाहेक अर्को उपाय बाँकी रहन्छ ? यो भनेको देशमा कुनै चिकित्सा पद्धति कायम नरहेको अवस्था हो । खासगरी कोरोनाका सन्दर्भमा विगतमा पनि यस्तै हुनेगरको थियो तर यति धेरै अस्पताल घुमाउँदा एक ठाउँमा पनि उपचार नपाएको अवस्थामा यो पछिल्लो उदाहरण हो । यसका बारेमा सरकारले जवाफ दिन र मृतकका परिवारसँग माफी माग्नुपर्छ । सहरी क्षेत्रमा त यस्तो भइरहेको छ भने गाउँको अवस्था कस्तो होला ?    (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय


तपाईको कमेन्ट लेख्नुहोस्