Techie IT
शुक्रबार, माघ ९,२०७७

होम आइसोलेसन मान्छे मर्न छाडिदिएजस्तो


पछिल्लो समय कोरोना महामारीका बीचमा मानवनिर्मित अर्को नयाँ संकट खडा भयो । यसको मार कोरोना संक्रमणको भन्दा पनि ठूलो बन्दै छ । त्यो हो होम आइसोलेसनमा बस्नेहरूको पीडा, छटपटी र मानसिक त्रास । सरकारले होम आइसोलेसनमा बस्नेहरूप्रति कुनै चासो नदेखाएका कारण र केवल यस्तो आइसोलेसनमा बस है भन्नेबाहेक त्यसका बारे कुनै व्यवस्था नगरिदिँदा यस्तो अवस्था आएको हो ।

यतिबेलासम्म जे–जति होम आइसोलेसनमा बसे र जे–जस्ता अनुभव लेख्न बोल्न सक्नेहरूले व्यक्त गरे ती डरलाग्दा छन् । अस्पतालमा श्यया नभएको बेलामा होम आइसोलेसनको बास एकप्रकारले सरकारलाई सहयोग पनि हो । त्यस्तो श्ययाको व्यवस्थापन सरकारले अनिवार्यरूपमा गर्नुपर्ने भए पनि गर्न सकेको छैन ।

सामान्यतया घरमै बस्दा हुन्छ भने यस्तो दुर्लभ अस्पतालको प्रयोग नगर्दा नै रामो । तर घरमा बस्दा सरकारको परामर्श सेवा कस्तो छ भन्ने सवाल महत्वपूर्ण हुन्छ । अहिलेसम्मका अनुभवअनुसार यस्तो परामर्शमा सरकार कतै उपस्थित भएको पाइएन । सरकारले घरमा बस्नेले अपनाउनुपर्ने निर्देशिका पनि बनाएको छ तर अधिकांश सर्वसाधारण त्यस्तो निर्देशिकाबारे जानकार छैनन् । धेरैले अनुभव सुनाएका छन् संक्रमित भइसकेपछि पहिलो काम के गर्ने भन्ने कुरामै अन्योल हुँदोरहेछ । यसरी उनीहरूलाई न स्वास्थ्यकर्मीले फोन गर्छन् न संक्रमितको फोन नै उठाउँछन्  ।

सरकारले पहिले होम आइसोलेसनमा बस्दा सरकारलाई टेलिफोनमार्फत जानकारी दिए हुने भनेको थियो । तर त्यस्तो जानकारी केवल संक्रमणको सूचना लिन मात्र प्रयोग भएको वा फोन लिएको रहेछ भन्ने सबैले बताइरहेका छन् । सरकारले संक्रमितको निगरानीका लागि ५० जना बिरामीबराबर एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको बताएको छ । तर ती स्वास्थ्यकर्मी हजार जनामा पनि फेला नपरेका र स्वयम संक्रमितले बारम्बार फोन गर्दा पनि सरकारले उपलब्ध गराएको त्यो फोन नउठेको साझा बुझाइ रह्यो ।

निर्देशिकामा भनिएको छ– संक्रमितलाई श्वासप्रश्वासमा कठिनाइ भए, छाति दुखे, होस हराए या अन्य कुनै जटिल समस्या आए स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ । बिरामीमा जब यस्तो अवस्था आउँछ घरमै बसेका बेला त्यसपछि होम आइसोलेसनमा बसेकाहरूका आफन्त वा स्ययम बिरामीले नै पनि त्यस्तो सहयोग खोज्छन् नै । तर सवाल हो त्यो उपलब्ध हुनुपर्छ तर यो बेलासम्म कम्तीमा त्यस्तो उपलब्धता छैन भन्ने नै छ भुक्तभोगीहरूको ।

बिरामीका मात्र नभएर सरुवा रोग विशेषज्ञका अनुसार अहिले होम आइसोलेसनका संक्रमित र स्वास्थ्य सेवाबीच ठूलो खाडल देखिएको छ, जसले सामान्य परामर्श र औषधि नपाएर संक्रमित जटिल भइरहेका छन्, होम आइसोलेसनमा बस्नु भनेको उपचार नै नचाहिनु होइन, यसको अर्थ घरमै संक्रमण व्यवस्थापन गर्नु र अरूलाई सर्नबाट रोक्नु हो, घरमा बसेका संक्रमितले सही सूचना र परामर्श पाएनन् भने मृत्युको मुखसम्म पुग्नसक्ने अवस्था हुन्छ ।

यस्तो गम्भीर विषयमा सरकार किन खेलवाड गरिरहेको छ भन्ने बुझ्न नै नसकिएको स्थिति छ । यता विज्ञ भनिरहेका छन्– ‘घरमै बसेर आफ्नै तरिकाले औषधि खाँदा स्वास्थ्यमा नकारात्मक असर मात्रै पर्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि खानु हुँदैन ।’ तर उता परामर्शका लागि कुन सहज प्रक्रिया अवलम्बन भएको छैन । यस्तो बेला सरकारले होम आइसोलेसनको नाममा मान्छे मर्न छाडेकोजस्तो अवस्था सिर्जना भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय


तपाईको कमेन्ट लेख्नुहोस्