Techie IT
३० जेठ २०७८, आईतबार

तरकारी र खाद्यान्नको आयात चिन्ताजनक


‘सुखी नोपाली समृद्ध नेपाल’को नारा बोकेर समृद्धिको यात्रामा लागेको सरकारको समय पनि अढाइ वर्ष नागेको छ । यो नाराअनुसारको काम गर्न अब सरकारसँग आधाभन्दा कम समय मात्र बाँकी छ । तर नागरिकका सानाभन्दा साना माग पनि सम्बोधन भएको छैन । कृषि प्रधान देशको समृद्धिको प्रमुख आधार भनेको नै कृषिक्षेत्रको समृद्धि हो । तर किसानले समयमा मलसमेत पाएका छैनन् भने अनुमान गरौंँ समृद्धिको नारा कुन ठाउँमा परेको होला । नाराले मात्रै कुनै पनि कुरा प्राप्त हुँदैन । त्यसका लागि सोअनुसारको काम गर्ने प्रतिबद्धता र व्यवहारमा पनि देखिनु पर्छ

किसानका सामान्य माग पूरा हँुदा ठूलो मात्राको आयात वस्तु रोकिँदोरहेछ । यसले देशको अर्थतन्त्रलाई पनि सन्तुलनमा ल्याउने काम गर्छ । किसानहरू सन्तुष्ट भए, आफ्नै उत्पादनले देशलाई खासगरी कृषि उपजमा आत्मनिर्भर बनायो भने समृद्धि आफैँ आउँछ । यसलाई कसैले दोहो-याइराख्नै पर्दैन । तर किसानका साना तर नभइनहुने माग समेत पूरा गर्नसक्ने कुनै बहादुर देखिएनन् ।

योमानेमा वर्तमान सरकार पनि पूर्णरूपमा असफल भयो । तैपनि दोहो-याइरहेको छ, समृद्धि ल्याउँछु भनेर । जस्तासुकै कुरालाई पनि जनताले पत्याउनै परेको छ । अखबारमा रिपोर्ट आरहेका छन्, देशका अधिकांश भागमा उत्पादित वस्तुले बजार पाएनन् भने अर्कातिर मलखाद र बीउबिजनको अभावले उत्पादनमै व्यापक ह्रास आयो । यी विषयमा सरकारले त्यसको निराकरण गर्नतर्फ ध्यान दिएन भन्ने आरोप नै सबैभन्दा बढी लागेको देखियो  । यसले नेपाली खेतमा उत्पादन भैरहेका र हुने वस्तुहरूको आयात अत्यधिक बढ्यो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउन भएको एक सय ७७ दिनको अवस्थामा तरकारी, खाद्यान्न, दलहन, औषधिजन्यलगायतका वस्तुहरूको आयात गरिएको विवरण सार्वजनिक गर्दा यो दुःखद चित्र प्रकट भएको हो । जसले सरकारको व्यवस्थापनलाई नै जिस्क्याउँछ । यता उत्पान वृद्धिका लागि चाहिने सामान्य वस्तु पनि दिन सकिएको छैन भने उता उत्पादन भएका वस्तुलाई उचित बजारको व्यवस्था गर्न पनि सकिएको छैन ।

सरकारले नै सार्वजनिक गरेको विवरणअनुसार लकडाउनको अवस्थामा पनि दुई लाख ४२ हजार नौ सय मेट्रिक टन तरकारी आयात भएछ देशमा । त्यस्तै नौ लाख सात हजार पाँच सय मेट्रिक टन खाद्यान्न, एक लाख ५५ हजार दुई सय मेट्रिक टन दलहन, ८२ हजार एक सय मेट्रिक टन फलफूल र १३ हजार मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको पाइयो ।

लकडाउनमा अति आवश्यक वस्तुहरूको अभाव नहोस् भन्ने उद्देश्य राखी यस्तो आयात हुन दिएको भन्ने सरकारको भनाइ छ । भारतबाट तरकारी, दलहन, खाद्यान्नलगायतका सामग्रीहरूको आयात गरिएको थियो भने त्यसको बेचबिखन पनि सरकारी तहबाट नै भएको थियो । अन्यत्रबाट ल्याउन उत्साहित हुने तर आफ्ना उत्पादन बढाउने र बेचबिखनको बन्दोवस्तमा ध्यान नदिने हो भने समृद्धिको यात्रा झन् ओरालो लाग्ने निश्चित छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय


तपाईको कमेन्ट लेख्नुहोस्