कोरोना बीमा मापदण्ड–२०७७ लागू : कोरोना लागेको प्रमाणित कागजात प्राप्त भएको सात कार्यदिनमा दाबी भुक्तानी दिनुुपर्ने
२० वटा बीमा कम्पनीहरुमार्फत कोरोना बीमा बिक्री हुुनेछ ।

काठमाडौं,साउन २२
बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ लागू गरेको छ । समितिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार उक्त मापदण्ड लागू गरेको हो ।
‘कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापदण्ड बनाई लागू गरेको हो’, समितिले विज्ञप्तिमार्फत भनेको छ । मापदण्डअनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न समितिबाट अनुमतिप्राप्त २० वटा बीमा कम्पनीहरुमार्फत कोरोना बीमा बिक्री हुुनेछ । यसरी बिक्री हुुने बीमालेख एक लाख र ५० हजार रुपैयाँको गरी दुुई प्रकारको हुुनेछ ।
समितिका अनुसार एक लाख रुपैयाँ कायम भएको बीमांकको लागि प्रतिव्यक्ति एक हजार र ५० हजार रुपैयाँको लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमाशुल्क कायम गरिएको छ । यदि सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको खण्डमा एक लाख रुपैयाँबराबरको बीमाको लागि छ सय र ५० हजार रुपैयाँबराबरको बीमाको लागि तीन सय रुपैयाँ बीमाशुल्क कायम गरिएको समितिले जनाएको छ ।
कोरोना बीमाको लागि न्यूनतम शर्तहरु पूरा गरेको हुुनुपर्ने समितिले जानकारी दिएको छ । यसअन्तर्गत कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुुनुुपर्नेछ । सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात, एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात पेस गर्नुुपर्नेछ ।
यसरी पेस गरिएको कोरोना बीमाको दाबी भुक्तानीको आधारमा कोरोना बीमालेख खरिद गरेको १५ दिनपछ् िर नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेखबमोजिमको रकम प्राप्त गर्न सकिने समितिले जनाएको छ । सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको सात दिनभित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । यदि दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
सरकारी कर्मचारीको सामूहिक कोरोना बीमामा शतप्रतिशत अनुुदान
बीमा समितिले राष्ट्रसेवक कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउने जानकारी दिएको छ । सरकारको चालू आर्थिक वर्षको बजेट वक्तव्यअनुसार आम नागरिकले गर्ने सामूहिक कोरोना बीमामा मात्र ५० प्रतिशत अनुदान उपलब्ध गराइने व्यवस्था रहेको आधारमा समितिले सोहीअनुुरुप गर्ने गरी मापदण्ड लागू गरेको हो ।
सामूहिक कोरोना बीमाका लागि अनुदान प्राप्त गर्न बीमकले समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड, २०७७ मा तोकिएबमोजिमका कागजातहरु पेस गर्नुपर्नेछ । यसको लागि एकाघर परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको स्वघोषणा एवं सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात, एकाघर परिवारका सदस्यहरुको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात, कोरोना बीमा गरेको परिवार विगत ३० दिनसम्म नेपालमा नै बसोबास गरेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात, यो बीमालेख सुविधा कुनै पनि परिवारले एउटा कम्पनीबाट एकपटकका लागि मात्र पाउनेछ ।
समितिका अनुसार यो बीमालेखको अवधि २०७८ असार मसान्तसम्म मात्र लागू हुनेछ । बीमकले सामूहिक बीमा गर्दा उल्लिखित प्रक्रिया र मापदण्डविपरीत बीमा गरेको पाइएमा त्यस्तो बीमाशुल्क अनुदानस्वरुप उपलब्ध नगराइने समितिले जनाएको छ ।(आर्थिक दैनिक बाट)
क्याटेगोरी : अर्थ / वाणिज्य
तपाईको कमेन्ट लेख्नुहोस्