Techie IT
शनिबार, असोज ३,२०७७

महामारीमा निजामती कर्मचारीको भूमिका


नेपाललगायत सिङ्गो विश्व नै यतिबेला कोभिड १९ का कारण सिर्जित कोरोना महामारीसँग जुधिरहेको छ । महामारी देखापरेसँगै यसको क्षतिलाई न्यूनीकरण गर्न तथा महामारीको नियन्त्रण गर्न राज्यको हरेक क्षेत्रको प्रभावकारी भूमिका आवश्यक रहन्छ ।

निजामती सेवा राज्य सञ्चालनको वैधानिक संयन्त्र भएकोले राज्यमा देखापरेको महामारीसँग जुध्नु र यसको प्रभावकारी व्यवस्थापनमा जुट्नु निजामती सेवकहरूको गहन जिम्मेवारी हो । विगतमा नेपालको निजामती सेवा र यसमा आबद्ध कर्मचारीहरूले देशले भोगेका थुप्रै प्राकृतिक विपद्हरू तथा विभिन्न समयमा देखापरेका सानातिना महामारीहरूको समेत डटेर सामना गरिसकेका छन् ।

हाल गैरप्राकृतिक विपद्का रूपमा देखापरेको कोभिड १९ महामारीको व्यवस्थापनमा समेत नेपालका निजामती सेवकहरू जुटिरहेका छन् । यसै मेसोमा हाल देखिएको महामारीको व्यवस्थापनमा निजामती सेवकहरूले वहन गर्नुपर्ने भूमिकाका विषयमा चर्चा गर्नु सान्दर्भिक हुन आउँछ ।

विश्वको कुनै कुनामा नयाँ किसिमको रोगको सूत्रपात भई त्यसको फैलावट एकभन्दा बढी देश वा विश्वव्यापीरूपमा नै हुनपुगेमा त्यसलाई महामारी भनिन्छ । नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार महामारी शब्दको अर्थ ‘हैजा, प्लेग आदि संक्रामक रोग, देसान’ भन्ने हुन्छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले महामारीलाई गैरप्राकृतिक विपद्को परिभाषाभित्र समेटेको पाइन्छ । यसरी हेर्दा, विश्वको कुनै पनि भू–भागमा विद्यमान चिकित्सा विज्ञानले औषधि र उपचार पद्धति समेत पत्ता लगाउन नसकेको नयाँ रोगको उत्पति र फैलावट भई सोही रोगका कारण समाजमा देखापर्ने असहज अवस्था नै महामारी हो ।

यसले आम जनजीवनमा आकस्मिकरूपमा असामान्य परिस्थितिको सिर्जना गर्दछ । हाल देखापरेको कोरोना भाइरस र यसबाट सिर्जित महामारीलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । मानवीय क्षति हुने, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रहरू छिन्नभिन्न हुनेजस्ता बहुआयामिक प्रभावहरू महामारीका कारण देखिने गर्दछन् ।

महामारीको समयमा महामारी व्यवस्थापनको प्रभावकारीता आवश्यक पर्दछ । सोझो अर्थमा महामारीको प्रशासकीय प्रबन्धका लागि अपनाइने व्यवस्थापकीय शैलीलाई महामारी व्यवस्थापन भनिन्छ । महामारीको कठिन, पीडादायक र त्रासयुक्त स्थितिमा नियमित र सहज अवस्थामा सञ्चालन गरिने व्यवस्थापकीय ढाँचाले अपेक्षित कार्यसम्पादन गर्ननसक्ने भएकोले महामारी व्यवस्थापनको अपरिहार्यता रहन्छ । र यसकिसिमको महामारी व्यवस्थापनको अग्रणी भूमिका निजामती सेवाले वहन गर्नुपर्ने हुन्छ ।

निजामती सेवामा आबद्ध कर्मचारीहरूले सेवाभित्र रहेर मूलभूतरूपमा नियमित, विकासात्मक र आकस्मिक गरी तीन प्रकृतिका कार्यहरू सम्पादन गर्दछन् । महामारी व्यवस्थापन निजामती कर्मचारीहरूले सम्पादन गर्ने आकस्मिक कार्यअन्तर्गतको एउटा महत्वपूर्ण पाटो हो ।

महामारीले अनपेक्षित र अप्रत्याशित विपत्ति निम्त्याउने भएकोले यसबाट प्रभावित व्यक्ति र समाजले सबैको सहयोग, सान्त्वना, उपचार र सक्रिय भूमिकाको अपेक्षा गरिरहेको हुन्छ । त्यसमा पनि, शासकीय सक्षमताको परिपूरक तथा राज्यको जनसमक्ष उपस्थित हुने वैधानिक माध्यमका चालक भएकोले महामारी व्यवस्थापनमा निजामती कर्मचारीको स्थान, प्रभाव र भूमिका अपरिहार्य एवं महत्वपूर्ण रहन्छ ।

महामारी व्यवस्थापनमा निजामती कर्मचारीको भूमिकालाई देशको संविधान, विभिन्न कानुन र नीतिगत दस्तावेजहरूले मार्गनिर्देश गरेका छन् । नेपालको संविधानमा सरुवा रोग नियन्त्रण संघको अधिकार सूचीमा रहेको छ । यसैगरी, प्राकृतिक तथा गैरप्राकृतिक विपद् पूर्वतयारी, उद्धार तथा राहत र पुनर्लाभ संघ र प्रदेशको साझा अधिकारको सूचीमा रहेको छ भने विपद् व्यवस्थापन संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा व्यवस्थित गरिएको छ ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, संक्रामक रोग ऐन, स्थानीय सरकार सञ्चालन ऐन, विपत् व्यवस्थापन दिग्दर्शन, विपत् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, पन्ध्रौँ योजनालगायतका महामारी एवं विपत् व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्ध राख्ने दर्जनौँ ऐन, नीति, निर्देशिका र रणनीतिहरू कार्यान्वयनमा रहेका छन् ।

यसबाहेक, नेपालले विपत् एवं महामारी व्यवस्थापन सम्बद्ध अन्तर्राष्ट्रिय सन्धि, सम्झौता एवं समझदारीहरू समेत गरेको छ । हालकै सन्दर्भलाई हेर्ने हो भने पनि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीविरुद्ध लड्नका लागि विभिन्न प्रोटोकल र मापदण्डहरू जारी गरेको र सदस्य राष्ट्रका हैसियतले नेपालले समेत त्यस्ता प्रोटोकलहरूको पालना गरिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरूको उपचार व्यवस्थापन, अस्पतालहरूको व्यवस्थापन, चिकित्सक र स्वास्थ्यकर्मीहरूको व्यवस्थापनलगायत महामारी व्यवस्थापन सम्बद्ध विभिन्न कार्यहरूलाई दिशानिर्देश गर्न दर्जनौं निर्देशिका र कार्यविधिहरू निर्माण गरी लागू गरेको छ । महामारी व्यवस्थापनका सन्दर्भमा महामारीजन्य प्रभाव न्यूनीकरणका लागि सरकारले बनाएका कानुन, नीति, निर्देशिका र सन्धि, सम्झौताको प्रभावकारी कार्यान्वयनमा जुट्दै सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्नु निजामती सेवकहरूको प्राथमिक जिम्मेवारी हो ।

महामारीको असर देश वा यसको कुनै पनि भू–भागमा भित्रिन नदिन आवश्यक पूर्वतयारी गर्दागर्दै पनि महामारीजन्य नयाँ रोग प्रवेश गरी मानिसहरूमा फैलावट हुनथालेपछि महामारीको चरण सुरुवात हुन्छ । यस चरणमा निजामती कर्मचारीहरूको भूमिका बहुआयामिक प्रकृतिको रहनुपर्ने हुन्छ ।

खासगरी, महामारीसँग जुध्न विभिन्न नीति, निर्देशिका र कानुन निर्माणको प्रक्रियामा निजामती कर्मचारीले विज्ञतायुक्त योगदान पु¥याउने गर्दछन् । यसका साथै निजामती सेवाले विगतको विश्लेषण गरी आगामी कार्यदिशा तय गर्न आवश्यक सूचना तथा तथ्यांक संग्रह गरी महामारी व्यवस्थापन सम्बद्ध नीति एवम् निर्णय निर्माणमा संस्थागत स्मरणको प्रवाह गरी योगदान पु-याइरहेको हुन्छ । महामारीको चरणमा निजामती कर्मचारी खासगरी चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरूको भूमिका मूर्त र सक्रिय रहनुपर्दछ ।

नयाँ रोगबाट ग्रसित भएका व्यक्तिहरू पहिचान गर्ने, अरुमा रोग फैलन नदिन सावधानी अपनाउने, रोगग्रस्त व्यक्तिहरूको उपचारको व्यवस्था मिलाउनेजस्ता कार्यहरूमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको ठूलो भूमिका हुन्छ । यस कार्यको समग्र व्यवस्थापन र प्रशासनिक बन्दोबस्त मिलाउने सन्दर्भमा स्वास्थ्य सेवाबाहेकका निजामती कर्मचारीहरूको समेत उतिकै गहन जिम्मेवारी रहन्छ । महामारी र रोगको संक्रमणका कारण गहिरो पीडामा रहेका विह्वलित नागरिकहरूलाई सान्त्वना दिने र आवश्यकतानुसार मनोसामाजिक परामर्शको व्यवस्था गर्ने समेतका कार्यहरूमा निजामती सेवकहरूको भूमिका अतुलनीय रहनुपर्ने हुन्छ ।

महामारी व्यवस्थापनमा अन्तर्राष्ट्रिय जगतमा भइरहेका असल अभ्यासहरूको अनुसरण, ज्ञान र अनुभवको आदानप्रदान जस्ता विषयले ठूलो महत्व राख्दछन् । महामारीको कारक चिकित्सा विज्ञानको वशभन्दा बाहिर रहेको नयाँ रोग हुने भएकोले यसको नियन्त्रणका लागि विश्व जगतमा विकास भएका नवीन निदानात्मक र उपचारात्मक पद्धतिहरूको तत्कालै अनुसरण गरिनुपर्ने हुन्छ । अर्कोतर्फ, महामारीविरुद्ध लड्नका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिन पनि अन्य मुलुक र साझेदार संस्थाहरूको सहयोगको अपरिहार्यता रहन्छ ।

यो अवस्थामा कूटनीतिक पहलमार्फत विश्व जगतबाट आर्थिक, प्राविधिक एवं भौतिक सहयोग जुटाउन प्रयत्न गर्नेदेखि लिएर व्यवस्थापन कार्यमा राज्यबाहेकका क्षेत्रहरूको सहभागिता आकर्षित गरी आवश्यक स्थानमा समन्वयात्मक रूपमा परिचालन गर्ने भूमिका समेत निजामती सेवकहरूले नै वहन गर्नुपर्ने हुन्छ । महामारी सम्बद्ध सूचना तथा तथ्यांकको संकलन र व्यवस्थापन पनि निजामती कर्मचारीले गर्ने अर्को महत्वपूर्ण कार्य हो । महामारी व्यवस्थापन सम्बद्ध कार्यहरूको प्रतिवेदन गर्ने, सुपरिवेक्षण एवं अनुगमन गर्ने, अभिलेख राख्ने र तथ्यांकीय आधार खडा गर्ने कार्यमा निजामती कर्मचारीको अपरिहार्य भूमिका रहन्छ ।

देशमा संघीयताको कार्यान्वयनसँगै महामारी व्यवस्थापनमा सबै तहका सरकारहरूको कुशल सहयोगीका रूपमा निजामती सेवकहरूले आफूलाई स्थापित गर्न जरुरी छ । विगतमा प्राकृतिक र गैरप्राकृतिक विपद् व्यवस्थापनको अभिभारा खासगरी केन्द्रीय सरकारमा निहित रहेको थियो ।

संघीयताको कार्यान्वयनपश्चात् सरकारका सबै तहहरू विपद् व्यवस्थापनमा अग्रसर हुने अवस्था छ । यो स्थितिमा निजामती कर्मचारीहरूले खासगरी विपद् व्यवस्थापनको लामो अनुभव, विज्ञता र संस्थागत स्मरणलाई सहीरूपमा प्रवाह गर्दे महामारी व्यवस्थापनमा सबै तहका सरकारको कुशल सहयोगी बन्नुपर्ने आवश्यकता रहेको छ ।

अर्कोतर्फ, आम नागरिकहरूलाई सार्वजनिक सेवा र खासगरी अत्यावश्यक सेवाको अपरिहार्यता महामारीकै समयमा समेत उतिकै रहन्छ । निजामती सेवाले महामारीको अवस्थामा पनि अत्यावश्यक र सार्वजनिक सेवाको प्रवाह परिस्थितिअनुकूल गर्नुपर्ने हुन्छ । हालकै सन्दर्भमा पनि बन्दाबन्दी र निषेधाज्ञाको अवधिमा समेत अत्यावश्यक सेवाहरूको प्रवाह भइरहेको स्थिति छ ।

महामारी व्यवस्थापनका सन्दर्भमा निजामती सेवाका उच्च पदाधिकारीहरूले केन्द्रदेखि स्थानीय तहसम्म रहने यससम्बन्धी विभिन्न समिति र संरचनाहरूमा आबद्ध रही महामारी व्यवस्थापनको विशेष जिम्मेवारी तथा आफ्नो पदअनुसारको नियमित जिम्मेवारी सँगसँगै बहन गर्ने गर्दछन् । यस्ता संरचनाहरूबाट भए, गरेका कार्यहरूको नियमित सञ्चार समेत गर्नुपर्ने हुन्छ ।

महामारीको समयमा प्रभावकारी सञ्चार र चुस्त समन्वयको आवश्यकता रहन्छ । प्रभावकारी सञ्चार व्यवस्थापन गर्न र सरकारका सबै तह एवं राज्यबाहेकका क्षेत्रहरूसँग सुदृढ समन्वय कायम गर्न सकिएमा महामारीविरुद्ध लड्न सहज हुन्छ । यसकिसिमको कार्यमा समेत निजामती सेवाको भूमिका महत्वपूर्ण रहने गर्दछ ।

महामारीको क्षतिलाई न्यूनीकरण गर्दै महामारीजन्य जीवनलाई सामान्य जीवनमा फर्काउन तत्कालै विभिन्न किसिमका पूर्वाधारहरूको जरुरत पर्दछ । अहिलेको महामारीका सन्दर्भमा पनि नागरिकहरूलाई सुरक्षित राख्दै सुरक्षा मापदण्डहरूको पालना गर्न क्वारेन्टाइन, आइसोलेसनजस्ता आवासहरू, अस्थायी अस्पतालहरूलगायतका विभिन्न पूर्वाधारहरू निर्माण जुट्न परिरहेको छ । यसरी, महामारी व्यवस्थापन सम्बद्ध पूर्वाधारहरूको निर्माण र यसको प्रशासनिक प्रबन्ध मिलाउने जिम्मेवारी पनि निजामती सेवकहरूकै कर्तव्यभित्र पर्दछ ।

यसका साथै, महामारी प्रभावित समुदायलाई राहतको व्यवस्था गर्ने, राहत, सहयोग एवं उपलब्ध स्रोतको वितरणलाई एकद्वार ढंगले सञ्चालन गरी निष्पक्ष, समन्यायिक र पारदर्शी तुल्याउनेजस्ता कार्यहरूमा निजामती कर्मचारीहरूको नेतृत्वदायी भूमिका रहनुपर्दछ । उद्धार तथा राहतका लागि सुरक्षा निकायहरू, चिकित्सक एवं स्वास्थ्यकर्मी र दक्ष जनशक्ति समेतको परिचालन गरी अधिकार एवं स्रोतको कुशल र शीघ्र बाँडफाँड गर्ने तत्परता निजामती कर्मचारीले प्रदर्शन गर्नुपर्ने हुन्छ । यस्तो समयमा स्वास्थ्य र पोषण, खाद्य सुरक्षादेखि लिएर महामारीबाट ज्यान गुमाएका मानिसहरूको शव व्यवस्थापनसम्मका कार्यहरूको अगुवाइ निजामती कर्मचारीले गर्नुपर्ने हुन्छ ।

महामारी व्यवस्थापनमा नेपालको निजामती कर्मचारीहरूको भूमिकाबारे चर्चा गरिरहँदा इतिहासको लामो कालखण्डमा निजामती सेवकले विगतमा वहन गरेको भूमिकालाई भुल्न मिल्दैन । खासगरी विगतमा देखिएका ठूला प्राकृतिक विपद्हरूमा निजामती सेवामा आबद्ध कर्मचारीहरूले वहन गरेको भूमिका स्मरणीय रहेको छ । यसैगरी, एचआईभी एड्स, सार्स, इबोलालगायतका विश्वव्यापी महामारी र देशभित्रै समय समयमा देखापर्ने गरेका हैजा, झाडापखालाजस्ता महामारीहरूको कुशल व्यवस्थापनको अनुभव समेत नेपालको निजामती सेवाले बटुलिसकेको छ ।

अहिलेकै सन्दर्भमा पनि महामारीबाट आफ्नै घरपरिवारमा देखिएका संकटलाई मनभित्र पोको पारेर राष्ट्रसेवाको कर्तव्यबोधमा खटिएका सामान्यज्ञ कर्मचारीदेखि घरको हालखबर बुझ्न समेत नभ्याई संक्रमितहरूलाई सेवा पु-याइरहेका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरू यसको ज्वलन्त प्रतिनिधि पात्र हुन् ।

निजामती कर्मचारीहरू प्राकृतिक र गैरप्राकृतिक विपद्को समग्र व्यवस्थापनमा अग्रसर बन्नेगरेका मात्र छैनन्, जीवन गुजाराका लागि सरकारले उपलब्ध गराएको तलवबाट गाँस काटेर पीडित नागरिकहरूको घाउमा मल्हम लगाउने गरेका अनेकौं दृष्टान्तहरू पनि छन् । महामारीले असामान्य र त्रासपूर्ण अवस्था निम्त्याउने भएकोले यस्तो बेलामा आम कर्मचारीहरूको दैनिक कार्यसम्पादनमा सामान्य स्थितिमा जस्तो सहजता हुँदैन ।

यद्यपि, राष्ट्रलाई आइपरेको कठिन घडीमा महामारीको प्रकोपबाट आफूलाई सुरक्षित राख्दै देशका लागि योगदान पु-याउनु तमाम राष्ट्रसेवकहरूको दायित्व हो । यो स्थितिमा महामारीको क्षति न्यूनीकरण र समयमै यसको नियन्त्रण हुनुका साथै नागरिकहरूले महामारीको जोखिम एवं संक्रामक रोगबाट ग्रस्त बन्नुपरेको बखत सहज, शीघ्र र सुलभरूपमा आपत्कालीन सेवा प्राप्त गर्नसक्ने गरी पहुँच वृद्धि भई आइपरेको संकट मोचन हुन सक्नुमा नै सबै क्षेत्रका निजामती कर्मचारीहरूको भूमिकाको सार्थकता रहन्छ । अतः निजामती कर्मचारीहरूको भूमिकालाई यही रूपमा स्थापित गर्नसकियो भने यसबाट महामारी व्यवस्थापन प्रभावकारी बन्नुका साथै आम नागरिकका दृष्टिमा निजामती सेवकहरूको साख समेत उँचो राख्न सकिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्